वर्षापछि काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हल जलमग्न, फ्लोरा एक्स्पोमा व्यवसायी मारमा


काठमाडौँ । आज (शुक्रबार) बेलुका परेको वर्षापछि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रको हल जलमग्न हुँदा त्यहाँ सञ्चालन भइरहेको फ्लोरा एक्स्पो प्रभावित भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) द्वारा चैत ५ देखि ८ गतेसम्म सञ्चालन भइरहेको फ्लोरा एक्स्पोमा वर्षाका कारण व्यवसायीले प्रत्यक्ष असर व्यहोर्नुपरेको आयोजकले जनाएको छ ।

अचानक परेको वर्षासँगै हलको छतबाट पानी चुहिनु, मुनि रहेको नाला फुटेर सतहमा पानी आउनु तथा उचित निकासको व्यवस्था नहुँदा प्रदर्शनी स्थलभित्र पानी जमेको हो । पानी भरिएपछि हलभित्र राखिएका स्टलहरूमा क्षति पुगेको छ भने केही स्थानमा हिँडडुल गर्नसमेत कठिन भएको थियो ।

बेलुकातिर वर्षा भएकाले अवलोकनकर्ताको भीड कम भइसकेको समय परे पनि स्टल राखेका व्यवसायी भने ठूलो मारमा परेका छन् ।

एक्स्पोमा सजावटका लागि राखिएका फूल, बिरुवा तथा अन्य सामग्रीमा पानी पसेपछि क्षति पुगेको व्यवसायीहरूले बताएका छन् । कतिपय स्टलमा पानी जम्दा सामान जोगाउन व्यवसायीहरूलाई हतारहतार स्थानान्तरण गर्नुपरेको अवस्था सिर्जना भएको थियो ।

एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले महँगो शुल्क तिरेर हल प्रयोग गर्दा पनि आधारभूत व्यवस्थापन कमजोर हुनु दुःखद भएको बताए ।

“दिनको लाखौं रुपैयाँ तिरेर हल लिन्छौं तर सामान्य पानी निकासको व्यवस्था नहुँदा यस्तो अवस्था आउनु दुःखद हो,” उनले भने, “यसले व्यवसायीलाई प्रत्यक्ष आर्थिक क्षति पुर्‍याएको छ ।”

उनका अनुसार हरेक वर्षजस्तै पूर्वाधार कमजोर र व्यवस्थापन अभावका कारण यस्ता समस्या दोहोरिने गरेका छन् । प्रदर्शनी केन्द्रको छाना, ढल निकास तथा समग्र संरचनाको सुधार नगरेसम्म यस्ता कार्यक्रम सञ्चालन गर्न चुनौतीपूर्ण हुने उनको भनाइ छ ।

भृकुटीमण्डप परिसर २०२२ सालमा स्थापना भएको हो भने २०३४ सालमा स्थापना भएको समाज कल्याण परिषद्को अधीनमा २०३७ सालदेखि आएको हो । हाल सो परिषद्ले नै भृकुटीमण्डपको व्यवस्थापन गर्दै आएको छ ।

यसबिच परिषद्को तर्फबाट आवश्यक सहयोग नपाए पनि शनिबार अवलोकनकर्ताको घुइँचो रहने अपेक्षा गरिएकाले आवश्यक सुधार तथा व्यवस्थापनमा आयोजक स्वयं सक्रिय भएर लागेको जनाएको छ ।

व्यवसायीहरूले प्रदर्शनी केन्द्रको संरचना सुधार, छाना मर्मत तथा प्रभावकारी ढल निकास व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् । अन्यथा हरेक वर्ष दोहोरिने यस्ता समस्याले व्यावसायिक कार्यक्रम सञ्चालनमा थप चुनौती सिर्जना गर्ने उनीहरूको भनाइ छ ।