ईद–उल–फित्रमा प्रधानमन्त्री कार्कीको शुभकामना: सद्भाव र एकताले समृद्धि ल्याओस्


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की ले ईद–उल–फित्र को अवसरमा नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि भई राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान को समापनसँगै मनाइने यस पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले रमजान महिनाभर गरिने कठिन व्रत (रोजा) ले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गरेकी छन् । उनका अनुसार यही कारणले रमजानलाई सत्कर्म र संयमको महिना पनि मानिन्छ ।

प्रधानमन्त्री कार्कीले यस्ता मूल्यहरूले समाजमा मानवता, सहअस्तित्व र समृद्धिको भावना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै ईद–उल–फित्र ले आपसी सद्भाव, भाइचारा र एकतालाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेकी छन् ।