काठमाडौँ । अमेरिका–इजरायल र इरानबिचको तनाव तीव्र बनेको छ । स्टेट अफ होर्मुज ४८ घन्टाभित्र खोल्न अमेरिकाले चेतावनी दिएपछि इरानले पनि प्रतिक्रिया जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्टेट अफ होर्मुज ४८ घन्टाभित्र नखोले तेल पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
लगत्तै इरानी अधिकारीले अमेरिकाले आफ्ना तेल पूर्वाधारमा आक्रमण गरे मध्यपूर्व क्षेत्रका अमेरिकी तथा इजरायली ऊर्जा चासोका क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
इरानका वरिष्ठ अधिकारी इस्माइल बकाईले हालै एक अन्तर्राष्ट्रिय समाचार माध्यमसँगको कुराकानीमा इरानमाथि भइरहेको निरन्तर हवाई आक्रमणबिच तेहरानबाट संयमताको अपेक्षा ‘अव्यवहारिक’ भएको टिप्पणीसमेत गरेका छन् ।
उनका अनुसार तनाव सुरु गर्ने पक्षले नै पहिले आक्रमण पूर्णरूपमा रोक्नुपर्नेछ । बकाईले भनेक छन्,“इरानमाथि बारम्बार प्रहार भइरहँदा संयम अपनाउनुपर्ने अपेक्षा एकतर्फी दबाब” मात्र हो ।”
उनले पहिले आक्रमण गर्ने मुलुकले स्थिति बिगारेकाले जिम्मेवारी लिनुपर्ने बताए ।
इरानी सेनाले पनि अर्को कडा चेतावनी जारी गर्दै भनेको छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू अवरुद्ध भएको विषयलाई लिएर इरानी ऊर्जा संरचनामाथि आक्रमण गर्ने धम्की कार्यान्वयन गरे, इरानले मध्यपूर्व क्षेत्रका अमेरिकी तथा इजरायली ऊर्जा संरचनामा आक्रमण गर्ने छ ।
इरान–अमेरिका–इजरायलबिच विगत केही सातादेखि तीव्र बनेको तनाव होर्मुजमा व्यापारिक जहाज आवागमन अवरुद्ध भएपछि अवस्था झनै उग्र बन्ने सङ्केत देखिएको छ ।
विश्वको ठुलो भागले निर्भर गर्ने तेल आपूर्तिको महत्वपूर्ण मार्ग प्रभावित भएपछि अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन अनुरोध गरिरहेका छन्।
तेहरानले भने सो अनुरोधलाई ‘एकतर्फी’ बताउँदै आक्रमण रोकिएपछि मात्रै वार्ता र सहमतिको सम्भावना उत्पन्न हुने स्पष्ट गरेको छ ।


प्रतिक्रिया दिनुहोस्