काठमाडाैँ । म्याग्दी जिल्लाको बेनी–दरबाङ–उल्लेनी–ताकम–मुना–जलजला सडक खण्ड अन्तर्गत कालोपत्रे स्तरोन्नति कार्य अलपत्र परेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले निर्माण कार्यलाई गति दिन सक्रिय पहल थालेको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत ठेक्का व्यवस्थापन भएको उक्त सडक (Contract ID: IDO/MYAGDI/NCB/W/012/075-76) को बाँकी खण्ड निर्माण व्यवसायी कम्पनी बिरुवा क्याराभान जे.भीले समयमै सम्पन्न नगरेपछि आइतबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको पहलमा सहजीकरण बैठक सम्पन्न गरिएको हो।
जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी आचार्य, पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख डा. महेन्द्रबहादुर बानियाँ, सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य, निर्माण व्यवसायीका प्रतिनिधि सोमबहादुर थकाली तथा सम्बन्धित कार्यालयका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
छलफलपछि निर्माण कार्यलाई शीघ्र अगाडि बढाउने उद्देश्यले केही महत्वपूर्ण निर्णयहरू गरिएको छ। निर्णयअनुसार निर्माण व्यवसायीले चैत्र १३ गतेसम्ममा निर्माण स्थलमा आवश्यक मेसिनरी उपकरण तथा कामदार परिचालन गरी काम सुरू गर्नुपर्नेछ। साथै, दैनिक कार्य प्रगति विवरण पूर्वाधार विकास कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, कालोपत्रे गर्न बाँकी रहेको सडक खण्डमा पहिले सव-बेस र बेस तहको काम सम्पन्न गर्नुपर्ने र उक्त कार्य सम्पन्न भएपछि नापजाँच गरी पूर्वाधार विकास कार्यालयले भुक्तानी उपलब्ध गराउने निर्णय समेत गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले उक्त सडक आयोजनालाई ‘रुग्ण योजना’ को रूपमा लिँदै अब ढिलाइ नगरी कार्य अघि बढाउन निर्माण पक्षलाई स्पष्ट निर्देशन दिएको छ। लामो समयदेखि अलपत्र रहेको सडक निर्माण कार्य अब गति लिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्