रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा


काठमाडाैँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ । 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टीका महासचिव मनोज भट्टले रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्ने दाबी समेत गरे । सो पार्टीको परराष्ट्रनीति स्पष्ट नभएको समेत महासचिव भट्टको निष्कर्ष छ ।

उनले रास्वपा कुनैपनि राष्ट्रको हितमा प्रयोग नहोस भनेर आफ्नो पार्टीले खबरदारी गर्न लागेको समेत बताए। 

महासचिव भट्टले भने, “तपाईहरु वास्तवमा अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ । र परराष्ट्र नीतिको सवालमा तपाईहरु क्लियर हुनुहुन्न । चीन विरोधी शक्तिको रुपमा अमेरिकाले तपाईहरुलाई प्रयोग गर्ने हो । त्यो गर्न दिनुहुन्न भनेका छौँ । यदि त्यस्तो भएन भने त के भयो र ? हामीनै गलत ठहरिउँला । देश बँच्दछ नि । देश बचेर हामी गलत ठहरिँदा त के बिग्रयो र  । तर हामीेले खबरदारी गरेनौ भनेत समस्या होला नि ।”

महासचिव भट्टले रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए । काँग्रेस र एमालेको जनाधार अहिले पनि बलियो भएकाले सो पार्टीले उनीहरुलाई कमजोर बनाउन पनि दाहालसँग सहकार्य गरेर अघि बढने उनको भनाइ थियो ।