नेपाल जग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष धमला महासङ्घकाे केन्द्रीय सदस्य उम्मेदवार


काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष विदुर धमलाले नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

संघले सिफारिस गरेपछि अध्यक्ष धमलाले वस्तुगततर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यको उम्मेदवारीको घोषणा गरेका हुन् ।

पर्यटन, बैंकिङ, एयरलाइन्स, निर्यात व्यवसायको अनुभवसहित अहिले घरजग्गा तथा आवास व्यवसायमा सक्रिय रहेका धमलाले महाङ्घको यही चैत २९ र ३० गते हुने साधारण सभाका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

धमला वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठको समूहमा छन् ।

सन् १९८६ मा होटल म्यानेजमेन्टको अध्ययन पुरा गरेपछि पर्यटन क्षेत्रमा लागेका धमलाले होटल व्यवसायमा हात हालेका थिए ।
पछि हस्तकला निर्यातको काम गरेका धमला एयर काष्ठमण्डप पनि सञ्चालक थिए ।

म अहिले घरजग्गा व्यवसायमा संलग्न भए पनि पर्यटन क्षेत्र, निर्यात क्षेत्र, एयरलाइन्स क्षेत्र, बैंकिङ क्षेत्रको अनुभव छ । महासङ्घमा मैले घरजग्गा तथा आवास क्षेत्रको मुद्दा उठान त गर्छु नै आफूसँग अनुभव भएको क्षेत्रको पनि मैले प्रतिनिधित्व गर्छुजस्तो लाग्छ – विदुर धमला, केन्द्रीय सदस्यका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासङ्घ

पशुपति विकास बैंकलाई एक्सिस विकास बैँकमा परिवर्तन गरेर अध्यक्ष बनेका धमला पछि घरजग्गा व्यवसायमा संलग्न भएका थिए ।

अहिले नगरकोटमा ‘टुरिजम सिटी’को ड्रिम प्रोजेक्टमा काम गरिरहेका धमलाले पाँचतारे सरोवर भिल्ला बनाइरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्मा गएर घरजग्गा व्यवसायको नीतिगत बहसलाई फराकिलो बनाउन भूमिका खेल्ने बताए ।

उनले भने,“महासङ्घमार्फत घरजग्गासँग सम्बन्धित मुद्दाहरु प्राथमिकतामा परेनन् कि भन्ने लागेको छ । यो क्षेत्रलाई कसरी मर्यादित र व्यवस्थित बनाउने भन्ने विषयलाई महासङ्घ मार्फत सरकारलाई ध्यानकर्षण गराउन पहल गर्ने छु ।”

उनले आफूले बस्तुगत क्षेत्रका धेरै विषय बुझेकाले पनि महासङ्घमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले भने,“ म अहिले घरजग्गा व्यवसायमा संलग्न भए पनि पर्यटन क्षेत्र, निर्यात क्षेत्र, एयरलाइन्स क्षेत्र, बैंकिङ क्षेत्रको अनुभव छ । महासङ्घमा मैले घरजग्गा तथा आवास क्षेत्रको मुद्दा उठान त गर्छु नै आफूसँग अनुभव भएको क्षेत्रको पनि मैले प्रतिनिधित्व गर्छुजस्तो लाग्छ ।”