सुकुम्वासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग


काठमाडाैँ । अखिल नेपाल सुकुम्वासी संघले सुकुम्वासी वस्तीमा डोजर लगाएर आतङ्क सिर्जना गर्न बन्द गर्न माग गरेको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरी सुकुम्वासी बस्तीहरूमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो ।

सरकारले कानूनी रुपमा भूमिहीन, अव्यवस्थित, सुकम्वासी समस्या समाधान गर्नुपर्नेमा उल्टो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरूमा डोजर लगाएर आतङ्क सिर्जना गरेको संघको आरोप छ ।

अखिल नेपाल सुकुम्वासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका वडा ७ मा रहेको धापासीको सुकम्वासी बस्तीमा रहेको १८ घरमा चैत ९ गते डोजर चलाइएको बताए ।

त्यसअघि काठमाडाैँको सिफलमा र भक्तपुरमा रहेको सुकुम्वासी बस्तीमा पनि डोजर चलाइएको उनकाे भनाई छ । उनले वर्तमान सरकारलाई निर्वाचन बाहेक अरु काम गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै सुकुम्वासी बस्तीमा डोजर चलाउने आवश्यकता किन पर्‍यो ? भन्दै प्रश्न गरे । उनले सुकम्वासी बस्तीमा डोजर चलाएको विषयमा सरकार बनाउन लागेको दल मौन बसकोमा पनि आपत्ति जनाए ।

 उनले भने,“देशमा नयाँ सरकार बनेको छैन । यो सरकारको एउटा मात्रै म्याण्डेड थियो निर्वाचन गराउने । तर यो सरकारले बस्ती बस्तीमा दोजर किन चलाइरहेको छ ? सुकम्वासी बस्तीका डोजर लगाउनुपर्ने कारण के छ ? ९ गते त्यहाँ दोजर नलगाएको भए, ठूलो आँधी बेहरी केही आउने थियो ? नयाँ सरकार बन्नलाई टोखाको बस्तीले छेक्ने थियो ?

संघका नेता प्रकाश खरेलले सुकुम्वासीलाई अतिक्रमणकारी भनेर खेद्ने काम भइरहेको बताए । वर्षौंदेखि सरकारी, ऐलानी जग्गामा बसोवास गरिरहेकाहरुलाई राज्यले अव्यवस्थित बसोवासी भनेको उनकाे भनाई छ ।