काठमाडाैँ । नेपाल सरकारले गठन गरेको जाँचबुझ आयोगले २०८२ भदौ २३/२४ मा भएको ‘जेन–जेड आन्दोलन’ सम्बन्धी ९०७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनले घटनालाई ‘दुःखद्, अकल्पनीय र राष्ट्रिय क्षति’ भन्दै शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन सामाजिक सञ्जालमा फैलिएको मिथ्या सूचना, योजनाबद्ध उक्साहट र सुरक्षा निकायको कमजोर तयारीका कारण हिंसात्मक अशान्तिमा परिणत भएको निष्कर्ष निकालेको छ।
आयोगका अनुसार दुई दिनको घटनामा ७६ जनाको मृत्यु भएको छ, जसमा ७४ सर्वसाधारण र २ प्रहरी छन्। घाइतेको संख्या २,७०२ पुगेको छ। धेरैजसो मृत्यु गोली प्रहारबाट भएको प्रतिवेदनमा उल्लेख छ।
भदौ २३ मा काठमाडौंमा सुरु भएको प्रदर्शन दिउँसोपछि उग्र बन्दै गोली प्रहारसम्म पुगेको थियो भने भदौ २४ मा देशभर फैलिएको हिंसामा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।
आयोगले सुरक्षा निकायबीच समन्वय अभाव, बल प्रयोगमा कमजोरी तथा सामाजिक सञ्जालको दुरुपयोगलाई मुख्य कारण मानेको छ। साथै, केही डिजिटल गतिविधि विदेशबाट सञ्चालन भएको संकेत पनि भेटिएको उल्लेख छ।
प्रतिवेदनले भविष्यमा यस्ता घटना रोक्न सुरक्षा सुधार, मिथ्या सूचना नियन्त्रण, राजनीतिक तथा प्रशासनिक सुधार, र पीडितलाई क्षतिपूर्ति लगायतका उपाय तुरुन्त कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ।


प्रतिक्रिया दिनुहोस्