नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महत ले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्दै एकीकृत रूपमा अघि बढ्न आगामी नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ गठन गर्न प्रस्ताव गरेका छन् ।

पार्टी अहिले इतिहासकै जटिल मोडमा रहेको उल्लेख गर्दै उनले सबै पक्षको साझा स्वामित्व सुनिश्चित नगरेसम्म कांग्रेस बलियो हुन नसक्ने बताए। संसदमा कांग्रेसको उपस्थिति ३८ सिटमा सीमित भएको अवस्थालाई ‘अत्यन्त न्यून’ भन्दै महतले पार्टी एकता अपरिहार्य रहेकोमा जोड दिए ।

उनले विगतमा भएको विशेष महाधिवेशन सबै पक्षको सहभागितामा नभएको र त्यसले अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गरे । अहिलेको विवाद समाधानका लागि विगतका गल्तीमा केन्द्रित हुनुको सट्टा साझा बिन्दु पहिल्याएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ।

महतले आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा सहभागी र असहभागी सबै पक्षलाई समेटेर साझा आयोजक समिति गठन गर्नुपर्ने धारणा रााखे । साथै, अदालतबाट आउने निर्णयले कानुनी पक्ष स्पष्ट पार्ने भए पनि पार्टी एकताका लागि राजनीतिक संवाद आवश्यक रहेको उनको भनाइ छ।

उनले सामाजिक सञ्जाल र मिडियामा एकअर्काविरुद्ध गालीगलौज गर्ने प्रवृत्तिबाट मुक्त हुन कार्यकर्ताहरूलाई आग्रह गर्दै यस्तो व्यवहारले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए ।