काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ले अन्ततः मार्जिन कारोबारसम्बन्धी कार्यप्रक्रिया लागू गरेको छ, तर निर्देशिका जारी भएको झण्डै डेढ महिनापछि मात्र यसको कार्यान्वयन अघि बढाइएको हो।
बिहीबार जारी सूचनाअनुसार नेपाल धितोपत्र बोर्ड को मार्जिन कारोबार निर्देशिका, २०८२ अनुरूप धितोपत्र बजारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन प्रक्रिया लागू गरिएको हो। बोर्डले फागुन १ गतेदेखि नै निर्देशिका लागू गरेको भए पनि फ्रन्टलाइन नियामकको रूपमा रहेको नेप्सेले कार्यान्वयनमा ढिलाइ गरेको देखिएको छ।
नयाँ व्यवस्थासँगै साना लगानीकर्ताले समेत ऋण लिएर सेयर किनबेच गर्न सक्ने बाटो खुलेको छ। यसले बजारमा लगानी विस्तार र तरलता बढाउने अपेक्षा गरिएको छ।
तर, विश्लेषकहरूले यसलाई ‘दुईधारे तरबार’ का रूपमा हेरेका छन्। बजार घट्दा लगानीकर्ताले थप रकम जम्मा गर्नुपर्ने ‘मार्जिन कल’ को जोखिम रहने भएकाले अनियन्त्रित प्रयोगले ठूलो घाटा निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
विशेषज्ञहरूका अनुसार मार्जिन कारोबारले बजारमा सक्रियता बढाउने सम्भावना भए पनि पर्याप्त नियमन नभए जोखिम पनि त्यत्तिकै बढ्नेछ।


प्रतिक्रिया दिनुहोस्