काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज नेपालको प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिँदैछन्।
ज्योतिष शास्त्र अनुसार बालेन्द्रले सपथका लागि रोजेको दिउँसो १२:३४ को समय ज्योतिषीय दृष्टिकोणले ‘अभिजित मुहूर्त’ को सबैभन्दा उत्तम समय मानिएको छ।
आज शुक्रबारको दिन बिहान १०:३७ देखि १२:०९ बजेसम्म राहुकाल रहेको थियो। यो समयमा कुनै पनि शुभ कार्यको सुरुवात गर्न नहुने शास्त्रीय मान्यता रहिआएको छ।
राहुकाल समाप्त भएलगत्तै सुरु हुने अभिजित मुहूर्त (११:४५ देखि १२:३४ सम्म) मा गरिने कार्यहरू सफल र दीर्घकालीन हुने विश्वास गरिन्छ। १२:३४ को समय यो मुहूर्तको अन्तिम र निकै प्रभावशाली बिन्दु मानिन्छ, जसलाई ‘विजय मुहूर्त’ सँगको सङ्गमका रूपमा पनि हेरिएको छ।
ज्योतिष शास्त्र अनुसार आज शुक्रबार दिउँसो १:३५ देखि ३:०५ बजेसम्म ‘अमृत काल’ को समय छ। यस समयमा गरिएको कामको फल मीठो र स्थायी हुने विश्वास गरिन्छ। अभिजित मुहूर्तमा सपथ लिएर आजै ३:०५ भित्र महत्वपूर्ण निर्णय गर्न समेत अनुकूल समय भएकाले यसै अनुसार साइत हेरिएको बुझिएको छ। आज रामनवमीसमेत हाे ।
शीतल निवासमा आयोजना हुने सपथ ग्रहण समारोहमा यसपटक केही भिन्न दृश्य देखिनेछ। सपथ ग्रहणका क्रममा ७ जना ब्राह्मणहरूद्वारा शङ्खनाद र १०८ बटुकहरूद्वारा स्वस्तिवाचन गरिने तयारी छ। साथै १०७ लामाहरूले बौद्ध परम्परा अनुसार मङ्गल पाठ गर्नेछन्, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउनेछ।
३५ वर्षको उमेरमा मुलुकको कार्यकारी प्रमुख बन्न लागेका बालेनलाई बिहीबार नै रास्वपाले संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सर्वसम्मत निर्णय गरिसकेको छ।
गत फागुन २१ को आम निर्वाचनमा उनको पार्टीले ल्याएको भारी बहुमतपछि आजको यो दिनलाई ‘परिवर्तनको उदय’ का रूपमा लिइएको छ।


प्रतिक्रिया दिनुहोस्