महासङ्घमा गएर मुलुकका लागि योगदान दिन चाहन्छु, मेरो केही व्यक्तिगत स्वार्थ छैन


नेपाल जग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष विदुर धमला नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्यको उम्मेदवार छन् । पर्यटन, बैंकिङ, एयरलाइन्स, निर्यात व्यवसायको अनुभवसहित अहिले घरजग्गा तथा आवास व्यवसायमा सक्रिय रहेका धमलाले महाङ्घको यही चैत २९ र ३० गते हुने साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् १९८६ मा होटल म्यानेजमेन्टको अध्ययन पुरा गरेपछि पर्यटन क्षेत्रमा लागेका धमलाले होटल व्यवसाय, हस्तकला निर्यात, एयर काष्ठमण्डपको सञ्चालक, तत्कालीन एक्सिस विकास बैँकको अध्यक्ष हुँदै पछिल्लो समय घरजग्गा व्यवसाय र हस्पिटालिटी क्षेत्रमा बढी सक्रिय छन् । यसैसन्दर्भमा आउँदै गरेको महासङ्घको चुनावको सेरोफेरोमा रहेर उम्मेदवार धमलासँग गरिएको कुराकानी :

नेपाल उद्योग वाणिज्य महासङ्घमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ । घरजग्गा तथा आवास निर्माणमा लामो समयको अनुभव पछि महासङ्घमा केन्द्रीय सदस्यको उम्मेदवार बन्दै गर्दा यहाँका एजेन्डा के छन् ?

म घरजग्गा तथा आवास व्यवसायी सङ्घमा प्रत्यक्षरूपमा आवद्ध भएको २५/२६ वर्ष भयो । मैले घरजग्गा तथा आवास विकास संघकाे पनि नेतृत्व गरे ।

२०५० सालमा स्थापना भएको नेपाल जग्गा तथा आवास विकास संघको संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठ हुनुहुन्छ । उहाँकै नेतृत्वमा संस्था स्थापना भएदेखि नै हामीले सरकारसँग नेपालमा घरजग्गा तथा अवासका मुद्दाहरू ‘लबिङ’ गर्दै आयौँ ।

विगतमा के अनुभूति गर्‍यौँ भने घरजग्गा कारोबार गर्ने व्यवसायीलाई हेर्ने दृृष्टिकोण सकारात्मक देखिएन । यसपछि हामीले घरजग्गा कारोबारलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ र नयाँ ढाँचामा जानुपर्छ भन्नेमा जोड दियौँ ।

म महासङ्घमा कुनै पद प्रतिष्ठाका लागि जान चाहेको होइन । देश बन्यो भने हामी सबै बन्छौँ । व्यक्ति धनी भएर हुँदैन देश धनी हुनुपर्छ । देश धनी हुनका लागि प्रयाप्त पूर्वाधारहरूको विकास हुनुपर्‍यो,सहरीकरण हुनुपर्‍यो,व्यवस्थित बस्तीको विकास हुनुपर्‍यो । मैले यी सबै एजेन्डा बुझेको छु र उहाँहरूसँग राख्न सक्छु –विदुर धमला, केन्द्रीय कार्यकारिणी समित सदस्यका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासङ्घ

व्यवसायीले काम गर्ने वातावरण कसरी बन्छ भन्ने विषयमा धेरै प्रयास गर्‍यौँ । हाम्रो निरन्तर प्रयासका बाबजुत पनि सुनुवाइ भएन । अब निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था भनेको नेपाल उद्योग वाणिज्य महासङ्घ हो । उद्योग वाणिज्य महासङ्घले सबै क्षेत्रको आवाजको प्रतिनिधित्व गर्छ र महासङ्घले उठाएको आवाज सरकारले पनि सुन्छ भन्ने लाग्यो ।

घरजग्गा व्यवसायीमा लागेका व्यक्तिहरूको प्रवेश पनि महासङ्घमा कम छ । महासङ्घमा घर जग्गा व्यवसाय कस्तो हो र कस्तो हुनुपर्छ ? भन्ने प्रयाप्त जानकारी छैन । महासङ्घका अहिलेसम्मका अध्यक्षलाई घरजग्गा तथा आवास व्यवसायलाई थाहा पनि छैन होला ।

जीवनमा घर जग्गा कारोबार सबैले गरेकै हुन्छन् तर कस्तो ऐन कानुनले कस्तो किसिमले काम गर्ने वातावरण हुन सक्छ ? यो क्षेत्रलाई कसरी मर्यादित र सभ्य बनाउन सक्छ भन्ने कुरा उद्योग वाणज्य महासङ्घको नेतृत्वले सोंचेको जस्तो मलाई लागेन ।

यो विषय महासङ्घको नेतृत्वलाई बुझाउने धेरै प्रयास गर्‍यौँ । दुई कार्यकाल प्रतिनिधि पनि पठायौँ । यति गर्दा पनि हाम्रो आवाजहरू नपुगेको, हामीले भन्न खोजको कुरा महासङ्घको नेतृत्वले नबुझेको कारणले सरकारसमक्ष हाम्रा मुद्दा उठाउन मैले उम्मेदवारी दिएको हो । यसले नीति निर्माणमा पक्कै सहयोग पुग्ने विश्वास छ ।

कतिपयले आफ्नो व्यवसायको फाइदाको लागि महासङ्घको नेतृत्वमा जान खोजेको भन्छन् नी ?

यो त सोंचाइमा भरपर्ने कुरा हो । मलाई व्यक्तिगत कुनै चाहना छैन । मैले खोजेको के हो भने नेपालको ऐन कानुनलाई परिमार्जित गरेर व्यवस्थित वस्ती विकास र सहरीकरणका लागि अवधारणा ल्याउनुपर्छ ।

हामीले गरेको प्रयासले आउँदो पुस्तालाई पनि काम लागोस् भन्ने हो । इन्डियाको गुडगाउँ हेरौँ, नोयडा हेरौँ कस्तो भइसक्यो । ती सब डेभलपर्सहरूले बनाएको हो । चाइनाका सिटीहरू हेरौँ । हाम्रोमा सिटी किन विकास भएन भने डेभलपर्सहरूले काम गर्न नै पाएको छैन ।

महासङ्घमा विगतमा पनि प्रतिनिधित्व भएकै हो तर यहाँहरूको आवाज किन सुनुवाई भएन ? हाम्रो संघबाट महासङ्घमा ओमराज भण्डारी र मिनमान श्रेष्ठ जीले प्रतिनिधित्व गर्नुभएको थियो । बिचमा खाली भयो । घरजग्गा व्यवसायीको आवाज पुगेन वा सुनुवाई भएन भने भने अर्थतन्त्रमै कसरी प्रभाव पर्ने रहेछ भन्ने कुरा म उदाहरण दिन्छु ।

अहिले बैँकमा पैसा छ, व्यवसायीले पैसा उठाउन सक्या छैन वा लिएका छैनन् । किन व्यवसायीको मनोबल छैन ? किन यस्तो भयो त ? वास्तवमा घरजग्गा व्यवसाय भनेको ‘मास्टर बिजनेस’ हो । यो हरेक व्यवसायसँग जोडिएको हुन्छ । टायल्स, फर्निचर, सिमेन्ट, छड, किचेनका सामाग्री लगायत सबै व्यवसाय घरजग्गासँग जोडिएको हुन्छ ।

घर जग्गा व्यवसाय अहिले चल्न सकेको छैन यदि घर जग्गा व्यवसाय राम्रो चलेको भएदेखि यो समस्या नै आउने थिए । सरकारले नीति नियम बनायो तर व्यवहारिक भएन । महासङ्घ सरकारको नीति क्षेत्रको सल्लाहकार पनि हो । घरजग्गाजस्तो ठुलो क्षेत्रलाई महासङ्घले समेट्न सकेन कि भन्ने हो ।

वस्तुगत क्षेत्रका नेतृत्वको गुनासो के छ भने महासङ्घमा हाम्रो कुरा सुनुवाई नै हुँदैन भन्ने गुनासो छ । तपाईंले प्रतिनिधित्व गर्दा पनि घरजग्गा तथा आवास क्षेत्रको सुनुवाई कति प्रभावकारी होला ?

हामीले असल नियतले काम ग¥यौँ भने नसुन्ने कोही पनि हुँदैन । मलाई विश्वास छ कि सही तरिकाले मुद्दा उठायौँ भने आवाजको सुनुवाई हुनेछ । हामीले प्रभावकारी ढङ्गले उठान गर्नुपर्ने विषय छन् ।

घरजग्गा ऐन,२०७६ ले घरजग्गा ऐन भनेर उद्योग सरहको मान्यता दियो तर उद्योग सरहको व्यवहार गरेको छैन । ट्रेडिङ व्यवसायलाई, निर्माण व्यवसायलाई ऋण सतप्रतिशत छ । हामीलाई ३२ प्रतिशत मात्रै कोल्याटरल बेसमा ऋण दिएको हुन्छ । बैंक ग्यारेन्टीदेखि फाइनान्सिङमा ठुलो समस्या छ ।

६८ प्रतिशत लगानी हालेर कम गर्न निकै गाह्रो छ । अब विदेशमा त प्रोजेक्टको आधारमा ऋण दिएको हुन्छ । नेपालमा प्रोजेक्ट फाइनान्सिङको समस्या छ । फाइनान्सिङ नभएपछि नयाँ परियोजनाहरू आउँदैनन्, सहरहरू निर्माण हुँदैनन्, अनि सानोसानो परियोजना बनाएर सहरको विकास कसरी हुनसक्छ ? हामीले कल्पना गरेको स्मार्ट सिटी स्मार्ट निर्माण गर्न निकै चुनौतिपूर्ण छ ।

घरजग्गालाई हेर्ने दृष्टिकोणमै समस्या छ । व्यक्तिले पनि कारोबार गर्छ । कम्पनीले पनि कारोबार गर्छ । भूमि सम्बन्धी २०२१ मा हदबन्दीको व्यवस्था छ । कम्पनीलाई पनि हदबन्दी, व्यक्तिलाई पनि हदबन्दी भनेपछि कसरी काम गर्न सकिन्छ ? हिजो सरकारले नै कम्पनीलाई जग्गा किन्न दियो घर बनाउन दियो अनि स्वीकृति पनि दियो । पछि बिक्री गर्नलाई हदबन्दी लगाइदियो । सरकारकै कारण एउटा व्यापारी बिग्रियो ।

तपाईंले उठान गरेको विषय त निरन्तर बहसको विषय बन्दै आएकै छ । कम्पनीमार्फत काम गर्नुपर्छ, व्यक्तिले घरजग्गाको सामूहिक कारोबार गर्नुहुँदैन भन्ने आवाज नयाँ होइन । व्यवसायी तयार तर कार्यान्वयन हुँदैन । समस्या कहाँ हो ?

हामीले त काम गर्ने हो, राज्यलाई कर तिर्छौँ । कम्पनीले ३०% कर तिर्नुपर्छ । कम्पनीले रोजगारी सिर्जना गर्छ ।

व्यक्तिले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छ । एउटा व्यक्तिले कारोबार गर्नु र कम्पनीले कारोबार गर्नुमा धेरै फरक छ । हामीले धेरै पटक नेपाल सरकारसँग आग्रह गर्दै आएका छौँ । सहरी विकास ऐन, भूमि सम्बन्धी ऐनमा समस्या छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा समस्या छ । यसैमा वातावरणीय मूल्याङ्कन सम्बन्धी प्रावधानले थप जटिल बनाएको छ ।

कानुनकै कारण घरजग्गा व्यवसायमा ठुलो समस्या छ । अब अहिले पनि सहरी विकास ऐन भनेर एउटा ड्राफ्ट बनेको थियो । यसमा व्यक्तिले पनि पाँचतलासम्म घर निर्माण गरेर बेच्ने भनिदियो ।

घर बनाएर बिक्री गर्ने काम त कम्पनीले गर्नुपर्छ, व्यक्तिले होइन । विश्वमा नभएको समस्या यहाँ कसरी भयो ? हामीले हेर्दा त सहरी विकास मन्त्रालय, भूमि मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय अर्थ मन्त्रालय जोडिन्छ ।

यसमा यी मन्त्रालयहरूको समन्वय नै नहुने रहेछ । अहिले फेरि ३ करोडसम्मको कारोबार गर्नेलाई ब्रोकर लाइसेन्स दिने भनेर भन्या छ । ब्रोकर भनेको को हो ? व्यक्ति हो की ? कम्पनी हो की ? डेभलपर हो कि ? लगानी कर्ता हो की ? यसमा त स्पष्टता हुनपर्छ ।

महासङ्घमा आफ्ना मुद्दा सुनुवाई हुने आशाका साथ उम्मेदवारी दिँदै हुनुहुन्छ । तपाईंले उठान गर्नु मुख्यमुख्य मुद्दा चाहीँ के के हुन् ?

मैले नेपाल जग्गा तथा आवास विकास संघको नेतृत्व गर्दा सुझावहरू पटकपटक लेखेर दिइयो । सार्वजनिक रूपमा पनि बहस गरेकै छौँ । महासङ्घले नीतिगत हिसाबले बृहत ढङ्गले काम गरेको देखिदैन । वस्तुगतमा संस्थाहरू धेरै छन् तर क्षेत्रगत हिसाबले एकीकृत गरेर हेर्न सकिन्छ ।

घरजग्गाको विषय सबैको सरोकारको विषय हो भन्ने लाग्छ तर पनि किन सबैले वेवास्था गरेको भन्ने अनौठो लाग्छ । उद्योग वाणिज्य महासङ्घको नेतृत्व,वस्तुगत संघको नेतृत्वले घरजग्गा क्षेत्रलाई प्राथमिकता दिएन भन्ने हाम्रो भनाई हो ।

अहिले पनि म भन्दा अझै राम्रो मान्छ आउँछ, नीतिगत तहमा अझै सशक्त भूमिका निर्वाह गर्नसक्ने छ, विज्ञ छ भने म पछाडि हट्छु र उहाँलाई सहयोग गर्छु । अहिले महासङ्घको केन्द्रीय सदस्यको उम्मेदवार बन्न खोज्नुको कारण देशलाई केही निश्चित समय दिन खोजेको हो । मेरो यहाँ कुनै पनि व्यक्तिगत स्वार्थ छैन ।

सरकारले पनि ट्याक्स उठाउने क्षेत्र गाडी देख्यो तर अरु क्षेत्र वेवास्था गर्‍यो। जबकि घरजग्गा व्यवसायलाई सबैभन्दा ठुलो कर सङ्कलनको क्षेत्र हुन सक्छ । यसरी हेर्दा उद्योग वाणिज्य महासङ्घले पनि कतै न कतै कमजोरी गर्‍यो ।

म निर्वाचित भएर गएको अवस्थामा सशक्त ढङ्गले आवाज उठाउने छु । हाम्रो कुरा राखेपछि तपाईहरुले यो गर्नुपर्छ भनि भन्छौँ । सरकारमा अनि सहरी विकास भन्ने एउटा कमिटी छ हाम्रो प्रतिनिधित्व भएपछि सरकारमा पनि आफ्नो कुरा राख्न सक्छौँ ।

भविस्यका लागि,समृद्ध अर्थतन्त्रका लागि, रोजगारी सिर्जनाका लागि, उद्योगको दिगोपनाका लागि आवाज उठाउने छु र आफ्ना कुरा प्रष्ट राख्नेछु । घरजग्गा व्यवसाय नचल्दासम्म अन्य व्यवसाय चलायमान हुनसक्दैन ।

तपाईंसँग त धेरै अनुभव पनि छ । तपाईंले महासङ्घका चुनाव जित्दा त धेरै क्षेत्रको प्रतिनिधित्व पो हुने रहेछ ।

हो मैले प्रतिनिधित्व गर्दा धेरै क्षेत्रको प्रतिनिधित्व हुन्छ भन्ने लाग्छ । सुरुमा म पर्यटन क्षेत्रमा खासगरी होटेल व्यवसायमा संलग्न भए, हस्तकला निर्यातमा संलग्न भए, बैंकिङ क्षेत्र, एयरलाइन्स क्षेत्रमा काम गरे । एयरलाइन्सलाई पर्यटनसँग जोड्ने प्रयास गरे । अहिले घरजग्गालाई पर्यटनसँग जोड्ने प्रयास गरेको छु ।

नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ नेतृत्वको लागि सहमतिको कुरो पनि उठिरहेको छ । यसमा सम्भावना कस्तो छ ?
महासङ्घमा जाने भनेको नीतिगत, मुद्दागत विषयहरू उठान गर्न हो ।

सरकारले बनाउने ऐन कानुनमा सहयोग गर्न हो जस्तो लाग्छ । महासङ्घमा को व्यक्ति जान्छ भन्ने मुख्य विषय होइन, मुद्दा के हो र प्रभावकारी कसरी बनाउने भन्ने मुख्य कुरा हो ।

अहिलेको प्राथमिकता हेर्दा समूह बनाएर एकले अर्कोलाई हिलो छ्यापेर तिकडम भइरहेको छ । मै ठिक हो भन्ने धारणा आइरहेको छ,यो चाहीँ गलत हो भन्ने लाग्छ । सबैको क्षेत्रगत प्रतिनिधित्व गरेर जान सकियो भने भोलीका दिनमा राम्रो हुन्छ । सकेसम्म सहमति गरेर जान सकियो भने राम्रो हुन्छ ।

सहमति भन्दाभन्दै एउटा गुट(वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकाल)मा परिसक्नुभयो तपाईं नै ?

म सबैलाई उत्तिकै राम्रो मान्छु । म हिजो गुटमा नलाग्दा पनि अञ्जन श्रेष्ठलाई चुनाव जिताउन मैले सहयोग गरेको हो । अहिले पनि म यो समूह र उ समूह भन्ने पक्षमा छैन ।

अहिले पनि म भन्दा अझै राम्रो मान्छ आउँछ, नीतिगत तहमा अझै सशक्त भूमिका निर्वाह गर्नसक्ने छ, विज्ञ छ भने म पछाडि हट्छु र उहाँलाई सहयोग गर्छु । अहिले महासङ्घको केन्द्रीय सदस्यको उम्मेदवार बन्न खोज्नुको कारण देशलाई केही निश्चित समय दिन खोजेको हो । मेरो यहाँ कुनै पनि व्यक्तिगत स्वार्थ छैन ।

चुनावी अभियानमा हुनहुन्छ । अन्तिममा केही भन्न छुटेको विषय छन् की ?

मेरो अनुरोध के छ भने म महासङ्घमा कुनै पद प्रतिष्ठाका लागि जान चाहेको होइन । देश बन्यो भने हामी सबै बन्छौँ । व्यक्ति धनी भएर हुँदैन देश धनी हुनुपर्छ । देश धनी हुनका लागि प्रयाप्त पूर्वाधारहरूको विकास हुनुपर्‍यो,सहरीकरण हुनुपर्‍यो,व्यवस्थित बस्तीको विकास हुनुपर्‍यो । मैले यी सबै एजेन्डा बुझेको छु र उहाँहरूसँग राख्न सक्छु ।

म यहाँहरू सबैलाई के अनुरोध गर्छु भने हाम्रो देश साच्चै राम्रो बनाउन चाहनुहुन्छ भने मलाई ठाउँमा पुगेर एजेन्डा राख्ने अवसर दिनुहोला । सम्भावनाहरूलाई कसरी प्रस्तुत गर्ने भन्ने अवसर दिनुहुने छ भन्ने विश्वास छ ।