काठमाडाैँ । ‘शब्दबाट संस्कृति, भाषाबाट सम्बन्ध’ भन्ने मूल नारासहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रे शाखाले आयोजना गरेको प्रथम जापानीज स्पिच प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट १२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा आकृति पाखृन (हाचिको जापानीज ल्याङ्ग्वेज स्कुल) प्रथम, नबिना शाही (डिज्नि सि एजुकेशनल कन्सल्टेन्सी) द्वितीय, अमित मोक्तान (हाचिको जापानीज ल्याङ्ग्वेज स्कुल) तृतीय तथा सिजन राई (सक्सेस बीसीइसी) सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
विजेताहरूले क्रमशः रु. ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि इक्यानका केन्द्रीय कार्यवाहक अध्यक्ष बासुदेव दाहालले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सहभागी सबैलाई बधाई दिएका छन्।
त्यस्तै इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले भाषा, कला र जापानी संस्कृतिको समन्वयका रूपमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने बताएका छन्।
कार्यक्रममा इक्यानका सह-कोषाध्यक्ष गोविन्द खनाल, महासचिव भवनाथ हुमागाईंलगायतले मन्तव्य राखेका थिए। कार्यक्रम संयोजक सरोज थापाले स्वागत मन्तव्य राखेका थिए भने सचिव बालकृष्ण न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्