काठमाडौं।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न निजी क्षेत्रको भूमिकाको प्रशंसा गरेका छन्। सरकारले निजी क्षेत्रलाई थप बलियो बनाउँदै प्रवर्धनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को दशौँ वार्षिक साधारणसभाको प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै मिश्रले सरकारले अवलम्बन गरेको नीतिको आधारमा नै दश वर्षमा यान्त्रिकीकरणले फड्को मारेको बताए। आजको दिनमा पावर टिलर नपुगेको र मिनी टिलर नपुगेको ठाउँ कमै रहेको उनको भनाइ छ।
केही नीतिगत सुधारमा सरकारले भूमिका खेल्ने र त्यसको निजी क्षेत्रले थप जिम्मेवारीका साथ पालना गर्ने हो भने कृषिको उत्पादन र उत्पादकत्व वृद्धि हुने उनको धारणा छ। विश्वमा विकसित भएका कृषि यन्त्रहरू किसानको सहज पहुँचमा पुग्नु सरकारी नीति र निजी क्षेत्रको सक्रियताले मात्र सम्भव भएको मिश्रको भनाइ छ।
मिश्रले भने, “दश वर्षमा १२ अर्बको कृषि यान्त्रिकीकरणको मूल्य शृंखला विकास भएको छ, धेरै रोजगारी सिर्जना भएका छन्, यो सरकारको नीति तथा कार्यक्रमको सफलता हो। यदि सरकारको नीति तथा कार्यक्रम काम नलाग्ने भएको भए यो ग्रोथ हासिल हुने थिएन।” नामियाले गरेकाे अध्ययनले हाल वार्षिक अनुमानित १२ अर्बकाे कृषि यान्त्रिकरण काराेबार भइरहेकाे देखाएकाे छ।
सरकारले ल्याएको २०७१ को कृषि यान्त्रिकीकरण नीतिको कार्यान्वयन, कार्यक्रममा प्राथमिकता र सरकारको लगानीले यान्त्रिकीकरण मूल्य शृंखलामा सहयोग पुगेको मिश्रको दाबी छ। “जुन अवस्थामा राम्रो हुन्छ, त्यहाँ समस्या पनि हुन्छ, मन्त्रालयका तर्फबाट नीतिगत सुधारका प्रयास गरिरहेका छौँ,” उनले भने।
कठिनाइका बाबजुद निजी क्षेत्रले असाध्यै राम्रो काम गरेको उनले बताए। मिश्रले धेरै नियमनका मात्र कुरा गर्दा प्रगति कम हुने भएकाले धेरै नियम र मापदण्ड मात्र नभनेर विकासका लागि सरकार लचक भएको जानकारी दिए।
मिश्रले भने, “कृषिका ३२ वटा नीति छन्, ती सबै अक्षरशः पालना गर्दा धेरैले काम गर्ने वातावरण सिर्जना हुन्छ। हामीले चाहेको गतिशील र जवाफदेही निजी क्षेत्र हो, सरकारी कानुनको सिकन्जामा मात्र उभिएको निजी क्षेत्र होइन। सेल्फ–गभर्निङ निजी क्षेत्रका लागि सरकारका उदारीकरण नीति छन्।”
कम गुणस्तरका मेशिनरी आयात नगर्न सचिव मिश्रले व्यवसायीहरूलाई अनुरोध गरेका छन्। शुभकामना मन्तव्य व्यक्त गर्दै उनले भूगोल सुहाउँदो र गुणस्तरीय उत्पादन किसानसम्म पुर्याउन ध्यान दिन आग्रह गरे।
बजेटको तयारीमा रहेकाले कृषि यान्त्रिकीकरणका सुझावहरू उपलब्ध गराउन उनले आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्