काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली लाई स्वास्थ्य अवस्थाका कारण म्याद थप प्रक्रियामा भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि अब भर्चुअल माध्यमबाटै कानुनी प्रक्रिया अघि बढाइने भएको छ।
जेन९जी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका ओलीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था भए पनि स्वास्थ्य जटिलताका कारण भिडियो कन्फ्रेन्समार्फत उपस्थित गराउने तयारी गरिएको हो।
ओली पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई का अनुसार आवश्यक कानुनी प्रक्रिया सरकारी वकिलको कार्यालयमै अघि बढिरहेको छ भने ओलीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था मिलाइएको छ।
“हाम्रो टोली सरकारी वकिलको कार्यालयमै छ, उहाँको प्रत्यक्ष उपस्थितिबाहेकका अन्य प्रक्रिया अघि बढिरहेका छन्,” भट्टराईले बताए।
दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओली स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहमा टिचिङ अस्पताल मा भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकीय निगरानीमै राखिएको छ।
यसबीच, म्याद थपको निर्णयपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्ने तयारी पनि गरिएको छ। कानुनी व्यवस्थाअनुसार म्याद थप नभएसम्म व्यक्तिको हिरासत सम्बन्धी अवस्थाबारे अदालतमा औपचारिक जानकारी नहुने भएकाले म्याद थपपछि मात्र रिट दायर गरिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्