काठमाडौं। नेकपा एमाले ले अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आन्दोलनलाई देशव्यापी बनाउँदै सडक र प्रशासन दुवै मोर्चामा दबाब बढाएको छ।
आन्दोलन अन्तर्गत एमालेका जनवर्गीय संगठनहरूले आइतबार पनि काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन्। राजधानीको माइतीघर–बबरमहल क्षेत्रमा बिहानैदेखि कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्।
पार्टीले केन्द्रीय कार्यक्रमअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने अभियान समेत सञ्चालन गरेको छ। यससँगै आन्दोलनलाई केवल सडक प्रदर्शनमा सीमित नराखी प्रशासनिक तहसम्म लैजाने रणनीति देखिएको छ।
एमाले कार्यकर्ताहरूले राजनीतिक प्रतिशोधले ओलीको पक्राउलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन्।
शनिबारदेखि सुरु भएको विरोध प्रदर्शन आइतबार थप संगठित र व्यापक रूपमा अघि बढाइएको छ। काठमाडौंका प्रमुख स्थानमा कार्यकर्ताहरूको उपस्थिति बाक्लिँदै गएको छ भने जिल्लाहरूमा पनि समानान्तर कार्यक्रम सञ्चालन भइरहेका छन्।
राजनीतिक रूपमा संवेदनशील बनेको यो घटनाले सत्ता र प्रमुख प्रतिपक्षबीचको दूरी अझ बढाउने संकेत देखिएको छ। आन्दोलनको आगामी स्वरूप र यसको राजनीतिक प्रभाव कस्तो हुने भन्ने विषय अब चासोको केन्द्र बनेको छ।


प्रतिक्रिया दिनुहोस्