नेपाल उद्योग वाणिज्य महासङ्घलाई सच्चिकै सबैको छाता सङ्गठन हो भन्ने बनाउन भूमिका खेल्छु



धर्मराज सापकोटा,ब्रोकर एसोसिएसन अफ् नेपालका निवर्तमान अध्यक्ष हुन् । उनी ३० वर्षदेखि पुँजीबजार,कर,लेखापरीक्षण,पर्यटन र कृषि क्षेत्रमा क्रियाशील छन् । उनी अहिले नेपाल उद्योग वाणिज्य महासङ्घको पुँजीबजार फोरमको सहसभापति पनि हुन् । सापकाेटा नेपाल महासङ्घको आगामी नयाँ नेतृत्व चयनका लागि कार्यकारिणी समिति सदस्यको उम्मेदवार छन् । सापकोटाले १० वर्षदेखि महासङ्घसँग जोडिएर विभिन्न भूमिका निर्वाह गरिरहेका छन् । महासङ्घमा उहाँको उम्मेदवारी र एजेन्डबारे टक्सार न्युजले गरेको कुराकानी :

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि पुँजीबजारमा संलग्न हुनुहुन्छ । महासङ्घमा पनि यहाँको अनुभव छ । उम्मेदवारी घोषणा गर्दा केके एजेन्डा लिएर हिँड्नुभएको छ ?

कुनै पनि सङ्घसङ्गठन बलियो हुनका लागि अध्यक्ष बलियो हुनुपर्छ । महासङ्घलाई नेतृत्व दिने भनेको अध्यक्षले हो । अध्यक्षलाई सहयोग गर्ने टिम भयो भने काम गर्न सहज हुन्छ । महासङ्घमा अहिले भावी अध्यक्ष भनेको वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ हुनुहुन्छ । उहाँले महासङ्घको गरिमा उचो बनाउन जुन तरिकाले विभिन्न योजनाहरू अगाडि सार्नुभएको छ,त्यो मलाई निकै मन परेको छ । उक्त योजनालाई कार्यान्वयन गर्न मेरोतर्फबाट पनि योगदान हुन सक्छ कि भनेर उम्मेदवारी दिएको छु ।

स्टक ब्रोकर एसोसिएसनबाटै आधिकारिक उम्मेदवारी दिने तयारी गर्नुभएको थियो । फेरि तपाईंहरूको अध्यक्ष(सागर ढकाल) नै अगाडि सर्नुभयो । तपाईं स्कट ब्रोकर एसोसिएसनबाट उम्मेदवार नहुने अवस्था कसरी आयो ?

म एसोसिएसनको निवर्तमान अध्यक्ष हो । यो विषयमा म पनि आश्चर्यमा छु । हामीले एसोसिएसनको तर्फबाट उम्मेदवार को हुने भनेर आन्तरिक छलफल गरेर एकखालको सहमति पनि भएको थियो । सातआठ महिना अगाडि नै हामीले छलफल गरेर एसोसिएसनलाई अध्यक्षले नेतृत्व गर्ने र महासङ्घमा निवर्तमान अध्यक्ष अथवा पूर्वअध्यक्षको तर्फबाट मैले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।

म अहिले महासङ्घको पुँजीबजार फोरमको सहसभापति पनि छु । एसोसिएसनमा पनि यसैअनुसार छलफल भएर म अगाडि बढेको थिएँ । मैले अघिनै निवेदन गरे कि बिचमा अलि फोहोरी राजनीतिक खेल भयो र यसको सिकार म भएँ । मेरो प्रतिनिधित्व अर्थतन्त्रको धेरैओटा क्षेत्रमा सहभागि हुँदै गर्दा म कुनै संस्थाबाट प्रतिनिधित्व गर्नेछु र समय आएपछि यो खुलाउँला ।

अध्यक्ष र निवर्तमान अध्यक्षले जिम्मेवारी बाँडफाँड गरेर काम गर्दा हाम्रा मुद्दाहरू स्थापित गर्न सजिलो हुन्थ्यो । हाम्रो आन्तरिक छलफलबाट नै म महासङ्घका लागि अगाडि बढेको थिएँ । अब यसमा अतिकति ‘पोहोरी राजनीति’ भयो ।

महासङ्घको नेतृत्वमा जान्छु भन्नेहरूले आफ्नो निहित स्वार्थको लागि विभिन्न सङ्घहरूमा खेलिरहनुभएको छ रे । उहाँहरूले किन यसो गरेको मैले बुझ्या छैन । असल नियतले महासङ्घलाई बलियो बनाउन, निजी क्षेत्रको हकहितको रक्षाका लागि नेतृत्व गर्न जाने हो ।

स्वच्छ प्रतिस्पर्धाबाट जो सक्षम हुन्छ अथवा स्वस्थ प्रतिस्पर्धामा जसलाई सदस्यले स्वीकार गर्नुहुन्छ उहाँले नेतृत्व गर्ने हो । मैले अहिले पनि हाम्रो सङ्घ भित्र (स्टक ब्रोकर एसोसिएसन ) गहनरूपमा छलफल चलाइरहेको छु ।

कुनै एउटा अमुक व्यक्ति अथवा अमुक समूहको गलत नियतका लागि हाम्रो समग्र क्षेत्र प्रयोग हुँनुहुँदैन । हामीले हाम्रो सदस्यको वा हाम्रो क्षेत्रको हकहित रक्षाका लागि प्रयोग हुनुपर्छ भनेर छलफल चलाइरहेको छु । हेरौँ, हामी एउटा सेफ्ल्यान्डिङमा पुग्छौँहोला ।

हिजो ब्रोकर क्षेत्रका दुईओटा सङ्गठनलाई एउटा बनाउन यहाँको महत्वपूर्ण भूमिका रह्यो । महासङ्घको चुनावलाई लिएर विभाजित जस्तो देखियो । भोलीका दिनमा फेरि अलग हुने अवस्था त आउँदैन ?

यस्तो विषयको त हामीले कल्पना नै गर्न हुँदैन । केहीले ‘फुटाउ र राज गर’ भन्ने शुत्र प्रयोग गरेर नयाँ सङ्गठनलाई मलजल गरेपछि दुइओटा सङ्गठन बन्न पुग्यो । तत्कालीन समयमा म ब्रोकर एसोसिएसनको अध्यक्षको हैसियतले एउटै सङ्गठन बनाउन पहल गरेँ । यो क्षेत्रको समग्र इन्डस्ट्रीको सम्पूर्ण सदस्यहरू एक ठाउँमा हुनुपर्छ भन्दा विभिन्न आक्षेप पनि ममाथि लाग्यो ।

विभिन्न साथीहरूले शङ्काउपशङ्का पनि गर्नुभएको थियो । मैले धेरै पहल गरेर दुइओटा सङ्घलाई एउटै बनाउन सफल भएँ । हामी फेरि चिरा पर्छौँ कि भनेर जुन प्रश्न गर्नुभएको छ, यो त हामीले कल्पना पनि गर्न सक्दैनौँ । विभिन्न व्यक्तिको फरकफरक सोँच आउनु स्वाभाविकै हो । छलफल हुन्छ,बहस हुन्छ । उचित र सही मार्ग भनेको एकताकै मार्ग हो । यसलाई हामीले प्रोत्साहन गर्नुपर्छ ।

ब्रोकर एसोसिएसनबाट अध्यक्ष सागर ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावमा अगाडि सरेपछि तपाईंले कुन क्षेत्रबाट प्रतिनिधित्व गरेर उम्मेदवारी घोषणा गर्नुभएको छ ?

म बरिष्ठ चार्टड एकाउन्टको हैसियतले नेपालको अर्थतन्त्रको धेरैओटा क्षेत्रमा सक्रिय छु । मेरो प्रमुख व्यवसाय धितोपत्र अथवा स्टक ब्रोकर हुँदैगर्दा म यसमा मात्रै सिमित नभएर शिक्षा, पर्यटन, ऊर्जा, बैंक तथा वित्तीय क्षेत्र, कर, राजस्व, लेखा परीक्षण, कृषि क्षेत्रमा पनि सहभागि छु ।

महासङ्घ हाम्रो निजी क्षेत्रको छाता सस्था भएकोले नेपालका जुनसुकै अर्थतन्त्रका क्षेत्रबाट पनि यसमा प्रतिनिधित्व गर्न सकिन्छ । यसरी उम्मेदवारी घोषणा गर्दैगर्दा ३० वर्षदेखि पुँजीबजारको अनुभव र १० वर्षदेखि महासङ्घमै विभिन्न भूमिकामा रहेर योगदान दिएको छु । स्टक ब्रोकर एसोसिएसन अफ् नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै महासङ्घमा जाँदा धेरै राम्रो र उपयुक्त प्रतिनिधित्व हुन्थ्यो ।

म अहिले महासङ्घको पुँजीबजार फोरमको सहसभापति पनि छु । एसोसिएसनमा पनि यसैअनुसार छलफल भएर म अगाडि बढेको थिएँ । मैले अघिनै निवेदन गरे कि बिचमा अलि फोहोरी राजनीतिक खेल भयो र यसको सिकार म भएँ । मेरो प्रतिनिधित्व अर्थतन्त्रको धेरैओटा क्षेत्रमा सहभागि हुँदै गर्दा म कुनै संस्थाबाट प्रतिनिधित्व गर्नेछु र समय आएपछि यो खुलाउँला ।

महासङ्घमा उम्मेदवार बन्दैगर्दा भावी अध्यक्ष अञ्जन श्रेष्ठले उठाएका मुद्दाहरूलाई सहयोग गर्ने र समर्थन गर्ने भन्ने त भैहाल्यो तर आफ्ना पनि दृष्टिकोण हुन्छन्,आफ्ना पनि एजेन्डा हुन्छन् भोलि महासङ्घ भित्र कुनै फोरमको वा कुनै परिषद्को वा कुनै क्षेत्रको नेतृत्व सम्हाल्दा यहाँले पनि आफ्नो दृष्टिकोण त दिनुपर्छ ? महासङ्घमा यहालाई चुनावमा भोट हाल्ने आधार के हो ?

महासङ्घलाई ‘ड्राइभ’ गर्ने अध्यक्षले नै हो । मेरो आफ्नो भूमिका पनि हुनेछ । महासङ्घको अध्यक्षले गर्न लागेको जुनसुकै योजनामा जुनसुकै कोणबाट सहयोग र योगदान गर्ने हो । दोस्रो,म पुँजीबजारको बजारको प्रतिनिधिको हैसियतले सहभागि हुन्छु ।

मेरो मुख्य व्यवसाय पुँजीबजार हुँदै गर्दा र अहिले पनि महासङ्घमा पुँजीबजार फोरमको सहसभापतिको हैसियतले भन्नुपर्दा अब आगामी कार्यकालमा अध्यक्ष ज्यूले जुन जिम्मेवारी दिनुहुन्छ,त्यो जिम्मेवारी मैले आफ्नो क्षमताले भ्याएसम्म योगदान दिने हो । कर,राजस्व, लेखा, पुँजीबजारमा सक्रिय सहभागि भइरहेकाले यसक्षेत्रको कुनै पनि जिम्मेवारी पुरा गर्नसक्छु ।

पुँजीबजारलाई अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ तर नेपालमा यस्तो देखिदैन । अर्थतन्त्र एकातिर गइरहेको छ भने पुँजीबजार अर्काे लयमा गइरहेको हामीले देखिरहेका छौँ । आम लगानीकर्ताहरूलाई जागरुक बनाउन सकेका छैनौँ । पुँजीबजारमा जनचेतनाको क्षेत्रमा धेरै काम गर्नुपर्ने छ । यसमा मेरो योगदान रहन्छ ।

महासङ्घ निजी क्षेत्रको छाता संस्था भएकाले पुँजीबजारलाई यसले विशेष प्राथमिकताको रूपमा हेरिरहेको छ कि छैन भन्ने प्रश्न छ । अहिलेसम्मको अनुभवले के भन्छ भने महासङ्घकै पदाधिकारी र सदस्यहरूलाई पुँजीबजारको महत्वबारे बुझाउनुपर्ने छ । यसमा मेरो विशेष भूमिका रहनेछ । तेस्रो,भनेको अर्थतन्त्रको सबै क्षेत्र पुँजीबजारसँग जोडिनुपर्छ । विगतमा बैंक तथा वित्तीय संस्थाले पुँजीबजार क्षेत्र ‘डोमिनेट’ गरेको थियो ।

अहिले हाइड्रोपावर लगायत विभिन्न क्षेत्रहरूको उपस्थिति बढ्दै गएको छ । हामीले जुनतरिकाले पुँजीबजारलाई विकास गर्न सक्थ्यौँ, त्यो गर्न सकिएको छैन । अर्थतन्त्रका विभिन्न क्षेत्रहरूलाई पुँजीबजारमा जोड्नुपथ्र्यो,त्यो हुन सकेन र यसका लागि बृहतरूपमा छलफल चलाउनुपर्छजस्तो लाग्छ । यी विषयमा मेरो पहल हुने छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घसँग १० वर्षदेखि जोडिएर काम गरिरहनुभएको छ । महासङ्घ पनि आलोचनामुक्त छैन । नयाँ नेतृत्व आउदै गर्दा महासङघलाई कसरी अगाडी बढाउने ? यसका समस्या के हुन् र यसलाई थप सुदृढीकरण कसरी गर्न सकिन्छ ?

महासङ्घ निजी क्षेत्रको नेपालको सबैभन्दा ठुलो सञ्जाल भएको छाता सङ्गठन भनेर हामी भन्छौँ । हामीले पनि निरन्तर सदस्यको रूपमा काम गरेका छौँ । महासङ्घबाट आशा राख्नु पनि स्वाभाविक हो । व्यवसायीलाई भयरहित वातावरणमा व्यवसाय गर्न पाउने वातावरण बनाउन महासङ्घको भूमिका हुनुपर्छ । विद्यमान नियमकानुनभित्र रहेर आआफ्नो व्यवसाय गर्दैगर्दा कतै अफ्ठेराहरू छन् भने सजिलो बनाउन महासङ्घले भूमिका खेल्नुपर्छ ।

नेपाल सरकारले नीति नियम बनाउदै गर्दा व्यवसायमैत्री नितीनियम बनाउन महासङ्घको एकदमै सक्रिय भूमिका हुनुपर्छ भन्ने अपेक्षा सदस्यहरूको हुन्छ । महासङ्घमा पुग्ने नेतृत्वले निजी क्षेत्रको सबैभन्दा ठुलो छाता सङ्गठनको हैसियतले काम गरिरहेको छैन भन्ने हामीलाई महसुस हुन्छ । महासङ्घको नेतृत्व कतै आफ्नो व्यवसायिक स्वार्थमा अल्झिरहेको त छैन ? आफ्ना समग्र सदस्यहरूको हकहितको रक्षाका लागि बोल्न नसकेको त होइन ? भन्ने महसुस हामीलाई हुन्छ ।

महासङ्घमा विजयी हुनुभयो भने यसको प्रश्न खोज्नु हुन्छ ?

अब अञ्जन श्रेष्ठले महासङ्घको नेतृत्व गर्नुहुनेछ । उहाँले अहिलेसम्म सुधारको महसुस गराउनुभएको छ । उहाँले पनि प्रष्टरूपमा सबैले अनुभव गर्ने महासङ्घ बनाउने भन्ने धारणा राख्नुभएको छ । विगतमा महासङ्घको नेतृत्वले जुन भूमिका निर्वाह गर्न सकिरहेको थिएन अब अञ्जन श्रेष्ठ ज्यूले पुरा गर्नुहुनेछ भन्ने विश्वास छ । उहाँले यो विषयमा ‘प्रो-एक्टिभ’ मात्रै होइन ‘प्रि-एक्टिभ’ भूमिका खेल्छु भनिरहनुभएको छ र सहयोग चाहियो भन्नुभएको छ ।

सबै व्यवसायीहरूका लागि राम्रो वातावरण तयार गर्ने र सरकारसँग प्रष्टसँग आफ्ना कुरा राख्छु भन्ने उहाँको भनाई छ । मलाई विश्वास छ अब महासङ्घमा पक्कै सुधार आउने छ ।

महासङ्घ विगतदेखि नै गुटगत वा समूहगत सिकार बन्दै आएको टिप्पणी हुने गरेको छ । अहिले पनि नेतृत्वमा सहमतिको कुरा छ । बाहिर सहमतिको कुरा गरे पनि अन्तिममा विभाजित भएर चुनाव लड्नुपर्ने स्थिति छ । यसपटक पनि सहमतिको सम्भावना त देखिएन हैन ?

अहिले बजारमा सहमतिको कुरा पनि सुनिन्छ । हाम्रा अग्रजहरू, वर्तमान अध्यक्ष, भावि अध्यक्ष, पूर्वअध्यक्षहरू सहमतिको कुरा गरिरहनुभएको छ । भावी अध्यक्षले महासङ्घलाई मैले तीन वर्ष हाक्ने हो र त्यसपछि म पनि साधारण सदस्यको रुपमा एउटा व्यवसायी रहने हो भन्नुभएको छ ।

उहाँले भविष्यको लागि पनि महासङ्घलाई प्रभावकारी बनाइरहन आफूलाई सहयोगि टिम चाहियो भन्नुभएको छ । उहाँको प्रष्ट धारणा के छ भने अध्यक्ष हुँदा मैले सहयोगि टिम बनाएर काम गर्न पाउनुपर्छ भन्नुभएको छ ।

नेपाल सरकारले नीति नियम बनाउदै गर्दा व्यवसायमैत्री नितीनियम बनाउन महासङ्घको एकदमै सक्रिय भूमिका हुनुपर्छ भन्ने अपेक्षा सदस्यहरूको हुन्छ । महासङ्घमा पुग्ने नेतृत्वले निजी क्षेत्रको सबैभन्दा ठुलो छाता सङ्गठनको हैसियतले काम गरिरहेको छैन भन्ने हामीलाई महसुस हुन्छ –धर्मराज सापकोटा,कार्यकारिणी समिति सदस्य उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासङ्घ

यो स्वभाविक पनि हो तर यहाँ त सहमति गर्नुपर्छ भनेर बजारमा एजेन्डा छर्ने तर गुटगत राजनीति गर्ने समूह पनि सक्रिय छ । अर्को समूहले सहमतिको वातावरण बनाउन सहयोग गरिरनुभएको छ भन्ने लागिरहेको छैन ।

अध्यक्षका लागि अर्को समूह वा असहयोग गर्ने टिम बनाउनुभन्दा अध्यक्षलाई काम गर्न दिने टिम बनाउन दिनुपर्छ । भावी अध्यक्षलाई अनुकुल टिम बनाउन दिँदा सहमतिको वातावरण बनिहाल्छ नी । सहमति र सहकार्य हुने अवस्था बन्छ भने त म छोड्न तयार छु ।

अन्तिममा चुनावी अभियानमा हुनुहुन्छ केही छन् कि छुटेका कुरा ?

म अहिले शिवप्रसाद घिमिरेको टिमबाट अगाडी बढिरहेको छ । म ३०/३२ वर्षदेखि पुँजीबजार, लेखा तथा लेखापरीक्षणमा बिताए र राजस्व क्षेत्रमा पनि अनुभव छ ।

वरिष्ठ चार्टड एकाउन्टको हैसियतले आफूले सकेको जति समाजलाई योगदान गर्दै गर्दा र व्यवसायीको हैसियतले विभिन्न क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा जोडिदा गरेको अनुभव महासङ्लाई दिनेछु ।

शिवप्रसाद घिमिरे एउटा घुम्ती व्यवसायबाट नेपालको महत्वपूर्ण व्यवसायीको रूपमा उदाउनुभएको छ । महासङ्घमा उहाँले २७ वर्ष भन्दा लामो योगदान दिनुभएको छ । म पनि उहाँको टिममा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर यहाँहरूले प्रदान गरिदिनुहुने छ भन्ने मेरो विश्वास छ ।