बालेनको उदयमा अमेरिकी कङ्ग्रेसको चासो


काठमाडौँ । नेपालको राजनीतिमा आएको पछिल्लो पुस्तान्तरण र सत्ता फेरबदललाई लिएर अमेरिकी कङ्ग्रेसले आफ्नो चासो व्यक्त गरेको छ।

कङ्ग्रेसनल रिसर्च सर्भिसद्वारा तयार पारिएको ब्रिफिङ नोटमा चैत २२ को संसदीय निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई व्यापक जनादेश दिएको भन्दै यसले शासन व्यवस्था, आर्थिक दिशा र वैदेशिक नीतिका प्राथमिकताहरूमा अनिश्चितताको बीचमा नयाँ आशा जगाएको उल्लेख छ ।

अमेरिकी कङ्ग्रेसले अमेरिकाले नेपाललाई क्षेत्रीय सुरक्षा र विश्व समुदायमा सकारात्मक योगदान पुर्‍याउन सक्ने सक्षम राष्ट्रका रूपमा हेर्न चाहेको भन्दै नेपालको लोकतान्त्रिक संक्रमण र मानव अधिकारको अवस्थालाई आफ्नो रणनीतिक स्वार्थको केन्द्रमा राखेको बताएको छ।

कङ्ग्रेसले नेपालसँग सम्बन्धित नीतिगत तथा विकाससम्बन्धी मुद्दाहरूमा समन्वय गर्न सन् २०११ मा गठन गरिएको ‘नेपाल कंग्रेसनल ककस’ हाल ११ सदस्यीय समूहका रूपमा सक्रिय रहेको चर्चासमेत गरेको छ। उक्त ककसले नेपालमा लोकतान्त्रिक अभ्यासको सुदृढीकरणदेखि लिएर क्षेत्रीय सन्तुलन कायम गर्नसम्म विभिन्न तहमा नीति–संवाद र सहयोगलाई अगाडि बढाउँदै आएको जनाइएको छ ।

ब्रिफिङ नोटमा कङ्ग्रेसका केही सदस्यहरूले नेपालस्थित तिब्बती शरणार्थी तथा प्रवासी समुदायमा भाषा र संस्कृतिको संरक्षणका लागि कार्यक्रमहरूलाई समर्थन गरेका उल्लेख गरेको छ ।

नेपालमा रहेका करिब १२ हजार ५०० दर्ता भएका र १० हजार भन्दा बढी दर्ता नभएका तिब्बती शरणार्थीहरूको अवस्थालाई अमेरिकी कंग्रेसले नजिकबाट नियालिरहेको ब्रिफिङ नोटमा जनाएको छ।

आर्थिक वर्ष २०२६ का लागि कंग्रेसले तिब्बत बाहिर रहेका तिब्बतीहरूको सहयोगका लागि १ करोड ३० लाख डलर विनियोजन गरेको रे यसको एक ठूलो हिस्सा नेपालमा रहेका तिब्बती समुदायको भाषा, संस्कृति संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकासका लागि खर्च गरिने प्रतिवेदनमा उल्लेख छ।

यसका साथै जलवायु परिवर्तन र प्राकृतिक विपद् प्रतिरोधी क्षमता अभिवृद्धिमा समेत कंग्रेसको सक्रिय संलग्नता रहेको ब्रिफिङ नोटमा उल्लेख छ।

अमेरिकी विदेश मन्त्रालयले नेपालसँगको सम्बन्धलाई ‘मैत्रीपूर्ण’ रूपमा व्याख्या गर्दै नेपाललाई एक शान्त, समृद्ध र लोकतान्त्रिक समाजका रूपमा विकास गर्न आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

अमेरिकी नीतिले नेपालको प्रभावकारी शासन, राजनीतिक स्थिरता र आर्थिक विकासलाई समर्थन गर्दै मानवीय सहायतामा देशको परनिर्भरता घटाउने लक्ष्य लिएको ब्रिफिङ नोटमा उल्लेख छ।

एमसीसी

सन् २०१७ मा हस्ताक्षर गरिएको एमसीसी सम्झौता नेपालको पूर्वाधार विकासका लागि कोशेढुङ्गा सावित भएको भन्दै ब्रिफिङ नोटमा ५० करोड डलरको अमेरिकी अनुदानमा नेपालले थप १९ करोड ७० लाख डलर थपेर कुल ६९ करोड ७० लाख डलरको कोष तयार पारेको बताइएको छ।