काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चुनाव हुने अवस्थामा हेमराज ढकाल समूहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
सोमबार बेलुकी वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा सभामा बोल्दै अध्यक्ष ढकालले आफू अहिले पनि सर्वसम्मतिको पक्षमा रहेको तर चुनावमा जाने अवस्था आएर समर्थन गर्ने घोषणा गरेका हुन् ।
उनले भने,“ म अहिले पनि सर्वसम्मतिकै पक्षमा छु । मेरो अन्तिमसम्म पनि प्रयास यही नै हुने छ तर यदी तपाईंहरूले मलाई मेरो हो भन्नुभयो भने खुलेर लाग्नेछु ।”
ढकालले कार्यक्रममा टिमको प्रशंसा समेत गरे । उनले भने,“ तपाईंहरूले यति राम्रो टिम बनाउनुभएको छ कि जितिसक्नुभयो ।”
अध्यक्ष ढकालले आफू पनि विगतमा सर्वसम्मत रूपमा विभिन्न पदहरूमा निर्वाचित भएको स्मरण गर्दै प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्वको लहर शुरु भइसकेको पनि दाबी गरे । उनको सन्देश गण्डकी प्रदेशको महासङ्घमा सर्वम्मत भएको विषयतिर सङ्केत गरेका थिए ।
उनले नेतृत्वमा पुग्नका लागि इमान्दार प्रयास र पवित्र भावना हुनुपर्ने बताउँदै कर्म गरे फल स्वतः प्राप्त हुने विश्वास व्यक्त गरे ।
महासङ्घको यही चैत २९ र ३० गते साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
नयाँ नेतृत्वका लागि दुईओटा समूह देखिएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको एउटा समूह छ भने अध्यक्ष ढकाल पनि हेमराज ढकालको समूहमा खुल्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्