दुईदेखि तीन हप्ताभित्र इरानमाथिको आक्रमण रोक्न सकिने अमेरिकी राष्ट्रपतिको भनाई


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईदेखि तीन हप्ताभित्र इरानमाथिको आक्रमण रोक्न सक्ने बताएका छन् ।

उनका अनुसार, ऊर्जा आपूर्तिमा अवरोध ल्याएको र विश्व अर्थतन्त्रलाई हल्लाएको युद्ध अन्त्य गर्न कुनै सम्झौता अनिवार्य नभएको पनि उल्लेख गरेका छन् ।

ट्रम्पको यो टिप्पणी यस्तो बेला आएको हो, जब इरानी विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार अल जजीरासँग कुरा गर्दै वासिङ्टनसँग कुनै पनि वार्ता नभइरहेको बताएका छन् । उनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सन्देशहरूको आदान–प्रदान भए पनि, अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको झण्डै पाँच हप्ता बितिसक्दा पनि वार्ता अघि नबढेको स्पष्ट पारेका छन् ।

यसअघि इरान वार्तामा संलग्न भएको र सम्झौताका लागि इरानले ‘बिन्ती गरिरहेको’ दाबी गर्दै आएका ट्रम्पले मङ्गलबार कूटनीतिक प्रयासबारे आफ्नो धारणा परिवर्तन गरेको देखिएको छ ।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूले अमेरिकाले द्वन्द्व अन्त्य गर्न सफल कूटनीति आवश्यक छ कि छैन भनेर सोध्दा उनले भने, “इरानले सम्झौता गर्नैपर्छ भन्ने छैन, हैन ।” उनले अमेरिका ‘धेरै चाँडै फर्किने … सायद दुई हप्ता, सायद तीन हप्तामा’ हुने बताए ।

“हामीले उनीहरूलाई लामो समयका लागि पूर्ण रूपमा कमजोर बनाइसकेका छौँ, उनीहरूले आणविक हतियार बनाउन सक्ने अवस्थामा रहने छैनन् भन्ने महसुस भएपछि हामी त्यहाँबाट फर्किनेछौँ,” उनले भने ।

इरानले भने सधैँ आफ्ना आणविक गतिविधिहरू शान्तिपूर्ण भएको र उसले कहिल्यै पनि आणविक हतियार उत्पादन गर्ने लक्ष्य नराखेको दाबी गर्दै आएको छ ।