काठमाडौँ। अर्थ मन्त्रालय ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट तयारीलाई तीव्र बनाउँदै बजेट तर्जुमा मार्गदर्शन सबै मन्त्रालयमा पठाएको छ।
संविधानअनुसार जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय का अनुसार यसपटकको बजेटमा आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता दिइएको छ।
उनका अनुसार मन्त्रालयहरूले बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका, तत्काल कार्यान्वयनमा जान सकिने तथा ‘प्रोजेक्ट बैंक’ मा सूचीकृत आयोजनाहरूलाई मात्र प्राथमिकता दिन निर्देशन दिइएको छ।
राष्ट्रिय योजना आयोग का उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले राजश्व र वैदेशिक सहयोगको आकलनका आधारमा स्रोत निर्धारण गर्दै बजेट सिलिङ पनि मन्त्रालयहरूलाई पठाइसकेको छ।
अर्थ मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको बजेट सिलिङ कम प्रस्ताव गरिएको छ।
सरकारले आगामी बजेटमार्फत नयाँ नीतिगत प्राथमिकता तथा सुधारका कार्यक्रम समेट्ने तयारी गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्