पोखरामा ‘ट्रान्स पार्टी’मा छापा : ३८ जना नियन्त्रणमा


पोखरा। कास्की प्रहरीले रात्रीकालीन ‘ट्रान्स पार्टी’मा छापा मार्दै ३८ जनालाई नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगल नजिकको एकान्त घरमा नेपाली र विदेशी नागरिक मिलेर पार्टी गरिरहेको सूचनापछि मंगलबार राति प्रहरीले कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्की का प्रमुख प्रहरी उपरीक्षक नविन कार्की का अनुसार वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराई को नेतृत्वमा खटिएको टोलीले छापा मारेको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मध्ये ८ जनासँग लागुऔषध फेला परेको छ, जसमा एक इजरायली, दुई भारतीय र पाँच नेपाली नागरिक रहेका छन्। उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।

घटनास्थलबाट एमडीएमए, कोकिन, चरेस, खैरो हिरोइन, ‘आइस’, गाँजा, एलएसडी र ‘म्याजिक मशरूम’ सहित ९ प्रकारका लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

अन्य सहभागीहरूको हकमा पनि विगतको आपराधिक पृष्ठभूमि जाँच भइरहेको प्रहरीले जनाएको छ। प्रमाण भेटिएकामाथि कानुनी कारबाही अघि बढाइने र अन्यलाई आवश्यक प्रक्रियापछि छाडिने बताइएको छ।

प्रहरीका अनुसार उक्त घर भाडामा लिएर पार्टी आयोजना गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।