पेट्रोलियममा कर सहुलित- संकटमा राहत


काठमाडौं । मध्य पश्चिममा जारी मध्यपूर्वमा जारी युद्धको कारणविश्वव्यापी ऊर्जा बजारमा आएको उतारचढावको असर नेपालमा देखिन सुरू भएको छ । 

नेपाल आयल निगमले एक विज्ञप्ति जारी गरि पेट्रोलमा प्रति लिटर रु. ४१.६०, डिजेलमा रु. ९४.९३ र हवाई इन्धनमा रु. १२३.८० ले वृद्धि भएको भन्दै अहिलेलाई पेट्रोल र डिजलको मूल्य यथावत राख्दै हवाई इन्धनको मात्र मूल्य बढाएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार आयल निगमले मूल्य बढेर आउँदा बढाउने गरेको थियो भने घटेर आउँदा घटाउने गरेको भएपनि नयाँ सरकारलाई अप्ठेराे पर्ने भन्दै मूल्य समायाेजन गरिएकाे छैन ।

एकै पटक उच्च दरले मूल्य बढाउँदा भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई अप्ठेरो पर्ने भन्दै पेट्रोल र डिजलको मूल्य नबढाइएको हो । तर मध्य पश्चिमको तनाब जारी रहे निगमले मूल्य समायोजन गर्न बाध्य हुने स्थिति छ।

नेपाल आयल निगमले जारी गरेको तथ्याङ्कअनुसार निगमलाई आगामी १५ दिनमा मात्रै १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।  अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य भारी मात्रामा बढे पनि उपभोक्ताको हितका लागि बिक्री मूल्य यथावत राख्दा निगम यो स्तरको घाटा हुने उल्लेख छ ।

पछिल्लो समय मूल्य बढेर आएको र त्यस अनुसार समायोजन हुन नसकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । आयल निगमसँग पुँजीको अभाव रहेको र मन्त्रालयसँग स्थरिकरण कोषसँग पैसा माग्न छलफल भइरहेको उनको भनाइ छ ।

“अहिले मूल्य बढ्दा थेग्न सक्ने नसक्ने भन्ने कुरा आउँछ । यसले उपभोक्ताको मागदेखि बजारको महङ्गी बढेर जान्छ । केही उपभोक्तालाई, केही निगमले ब्यहोर्ने र केही सरकारले व्यहोर्ने हो भने त्यसलाई ब्यालेन्स गर्न सकिन्छ । यहि गर्ने भनेर निक्र्यौल भइसकेको छैन हामी छलफल गरिरहेको छौं,” उनले भने ।

उद्योग वाणिज्य ताथ आपुर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सरकारले बढाउने निर्णय गरेको बताए । उनले भने, “सचिव ज्यूको अध्यक्षतामा गर्ने निर्णय हो । यो कार्यान्वयनमा आउँछ ।”

नेपालमा पेट्रोल दैनिक २ हजार देखि २५ सय किलोलिटर खपत हुने गरेको छ भने डिजेल ४५ सय देखि ५ हजार किलो लिटर खपत हुने गरेको छ ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ र डिजेल १६७ रुपैयाँ छ । हाल सरकारले विभिन्न ७ वटा शीर्षकमा कर र महसुल उठाउने गर्दछ। जसमा सरकारले प्रतिलिटर पेट्रोलमा करिब ६५ रुपैयाँ र डिजेलमा ५० रुपैयाँ कर लिने गरेको छ ।

यदि सरकारले अहिलेको अवस्थामा पेट्रोलमा लिने गरेको करिब ३७ प्रतिशत तथा  डिजेल मट्टीतेलमा लिने गरेको करिब ३० प्रतिशत करमा सहुलियत दिएमा केही समय उपभोक्तालाई राहत पुग्ने देखिएको छ जसमध्ये सरकारले हाल पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर र १.५० रुपैयाँ प्रदूषण शुल्क लिइरहेको छ।  यी दुई शीर्षकका कर मात्रै हटाउँदा पनि उपभोक्ताले तुरुन्तै प्रतिलिटर ११.५० रुपैयाँ राहत पाउनेछन्।

यसैगरि सडक मर्मत संभार शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क, हरित कर स्थगन गरेर राहत दिनसक्ने देखिन्छ ।