‘रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ’


काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले मधेश प्रदेशबाट निर्वाचित सांसदहरूसँग क्षेत्रगत तथा प्रदेशगत समस्याबारे छलफल गरेका छन् । 

बुधबार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सिंचाइ तथा भौतिक निर्माणका काममा देखिएका समस्या र समाधानका उपायसहित प्रधानमन्त्री शाहले सांसदहरूसँग ब्रिफिङ लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताए ।

उनकाअनुसार छलफलमा मधेश प्रदेशका सांसदहरूले सेवा प्रवाहमा देखिएका अवरोध, विकास निर्माणमा ढिलाइ लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सांसद झाले रेडक्रसको नाममा भइरहेको संगठित भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरू विघटन गरी नयाँ संरचना बनाउनुपर्ने धारणा राखेको बताए । विभिन्न जिल्लामा मुद्दा दर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई रोक्न आफूहरुले आग्रह गरेको उनको भनाइ छ । 

उनले भने, “अहिले नै गर्न सकिने, गरिहाल्नुपर्ने कुरा के के छन् ? भन्ने कुरामा मधेस प्रदेशबाट निर्वाचित सांसदहरु उपस्थित थियौँ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र त्यहाँको कृषि, सिंचाई एवं भौतिक विकास निर्माणको कार्यको बारेमा छलफल भयो । यीबाहके तत्कालै गरिहाल्नुपर्ने र गर्न सकिने कामहरुको बारेमा अझ धेरै छलफल र ध्यानाकर्षण भयो । तत्काल समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर त्यसमा काम भइराखेको छ । मेले पनि आफ्नो कुरा राखे । रेडक्रसको नाममा भइराखेको संगठित भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरुलाई विघटन गरेर नयाँ कमिटी बनाउनुपर्छ । विभिन्न जिल्लाहरुमा मुद्दा दर्ता गर्न नखोज्ने कार्यहरु तत्काल रोक्नुपर्यो भनेर आफ्नो कुरा राखे । मुख्य सचिव र प्रमुख जिल्ला अधिकारीहरुलाई यसबारे आजै निर्देशन दिन्छु भनेर भन्नुभयो ।”

जवाफमा प्रधानमन्त्री शाहले रेडक्रसको नाममा भइरहेको भ्रष्टाचार रोक्न मुख्य सचिव तथा प्रमुख जिल्ला अधिकारीहरूलाई तत्काल निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभएको उनले बताए ।