काठमाडौं । स्वर्गीय उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डिगो ओटिटी प्लेटफर्ममार्फत प्रदर्शनका लागि तयार भएको छ ।
निर्माण पक्षका अनुसार, यस वृत्तचित्रको प्रदर्शनबाट संकलित आम्दानीको प्रमुख हिस्सा ‘उज्वल थापा फाउन्डेसन’लाई प्रदान गरिने छ । जसले उनले अघि बढाएका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वृत्तचित्रले उज्वल थापाको बाल्यकालदेखि अमेरिकामा हासिल गरेको शिक्षासम्म र त्यसपछि नेपाल फर्किएर उद्यमशीलता तथा वैकल्पिक राजनीतिक सोचमार्फत देश परिवर्तनका लागि उनले गरेको संघर्षलाई गहिराइका साथ प्रस्तुत गरेको छ ।
दुर्लभ भिडियो सामग्री, उनका सहकर्मी, साथी तथा आलोचकहरूको अनुभव समेटिएको यो वृत्तचित्रले समाजलाई प्रश्न गर्न र व्यक्तिगत जिम्मेवारी लिन प्रेरित गर्ने व्यक्तित्वको सशक्त चित्रण गर्दछ । निर्माण पक्षका अनुसार, यो केवल एक व्यक्तिको जीवनी नभई समृद्ध नेपालको सपना देख्ने पुस्ताका लागि प्रेरणादायी कथा हो ।
वृत्तचित्र नेपालसहित विश्वभरका दर्शकले डीगो एपमार्फत हेर्न सक्नेछन् ।
शुल्क संरचनाअनुसार नेपालमा हेर्न १९९ तोकिएको छ भने अमेरिका र अष्ट्रेलियाका दर्शकका लागि ४.९९ अमेरिकी डलर तथा अन्य देशका लागि २.९९ अमेरिकी डलर निर्धारण गरिएको छ ।
उज्वल थापा फाउन्डेसनले युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ । वृत्तचित्रबाट प्राप्त सहयोगले यी अभियानहरूलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्