काठमाडाैँ । काठमाडौँको ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा चैत शुक्ल पूर्णिमाका अवसरमा लाग्ने परम्परागत मेला सुरु भएको छ ।
बिहानैदेखि हजारौंको संख्यामा भक्तजनहरू बाइसधारामा स्नान गर्न पुगेका छन् । धार्मिक मान्यताअनुसार आजको दिन बाइसधारामा स्नान गर्नाले शरीरका रोगव्याधि निको हुने र पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
विशेषगरी छाला सम्बन्धी रोग निको हुने जनविश्वासका कारण पनि यहाँ स्नान गर्नेहरूको ठूलो भीड लाग्ने गर्दछ । मेला व्यवस्थापन समितिकाअनुसार यस वर्ष भक्तजनको सुरक्षा र सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको छ ।
सुरक्षाकर्मी र स्वयंसेवकहरूको बाक्लो उपस्थिति रहेको छ भने ट्राफिक व्यवस्थापनलाई पनि चुस्त बनाइएको छ । बालाजु उद्यान भित्र रहेको बाइसधाराको आफ्नै ऐतिहासिक महत्व छ ।
मल्लकालीन समयमा निर्माण गरिएका यी धाराहरू काठमाडौँ उपत्यकाको महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन् । आजको दिन यहाँ स्नान गरेपछि नजिकै रहेको जामाचो डाँडामा रहेको चैत्यको दर्शन गर्ने पनि चलन रहेको छ ।


प्रतिक्रिया दिनुहोस्