काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ नेतृत्वका लागि दुइओटा समूह बनाएर चुनावी अभियान चलिरहेको छ ।
अभियानकैबिच सहमतिको सम्भावनाबारे अनौपचारिक छलफल समेत भइरहेको छ ।
समूहको नेतृत्व गरिरहेका वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबिच चुनावी मुद्दाबारे औपचारिक कुराकानी हुन नसकेपछि मध्यस्तकर्ताहरूले विभिन्न प्रस्ताव अगाडि सारिरहेका छन् । यसका लागि पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदीपकुमार श्रेष्ठ लगायत पनि सक्रिय छन् ।
अध्यक्ष चन्द्र ढकाल र पूर्वअध्यक्ष चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल,नरेशलाल श्रेष्ठ वस्तुगततर्फका उपाध्यक्ष र अञ्जन श्रेष्ठको समूहका तर्फबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार रहेका शिवप्रसाद घिमिरेलाई कोषाध्यक्ष बनाउने विकल्प अगाडि सारेका छन् ।
घिमिरेले उपाध्यक्ष नछोड्ने अवस्थामा नरेशलाललाई अर्को कार्यकालका लागि उपाध्यक्षमा प्रतिबद्धता जनाउने र अहिलेसम्मको खर्च व्यस्थापन गर्नुपर्ने प्रस्तावसमेत यो समूहले अगाडि ल्याएको छ ।
जिल्लानगर उपाध्यक्षमा भने अध्यक्ष ढकालको समूहले चासो देखाएको छैन । अञ्जन श्रेष्ठले भने छलफलका लागि तयार रहेको बताए पनि आफूअनुकुल टिम बनाउने विषयमा सचेत देखिन्छन् । यसबारे अञ्जनले खुल्ला छलफल गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घमा आगामी नेतृत्वका लागि लिएर वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष (भावी अध्यक्ष) अञ्जन श्रेष्ठ आमनेसामने बनेका छन् ।
बाहिर सार्वजनिक मञ्चमा सहमतिको कुरो गरे पनि महासङ्घका वर्तमान अध्यक्ष र भावी अध्यक्ष पूर्ण तयारीका साथ चुनावका लागि तयारी गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ विधानअनुसार अब स्वत : अध्यक्ष हुन् ।
महासङ्घमा वितमा राजनीतिक दलको चासो रहने गरेको थियो भने व्यवसायीहरू पनि गुटबन्दी गरेर चुनावमा होमिने गरेका थिए । यसपटक राजनीतिक हस्तक्षेप कम भए पनि उद्योगी व्यवसायीबिच नै तीव्र प्रतिस्प्रधा देखिएको छ ।
चैत २९ र ३० गते हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्ने समय नजिकिदै गर्दा वर्तमान अध्यक्ष र भावी अध्यक्ष प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्