काठमाडौँ । थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी एक्सटेन्सन ) र नेपालको ड्रकर लिडरसिप एकेडेमी (डीएलए) बीच नेपालको बैंकिङ तथा कर्पोरेट क्षेत्रमा नेतृत्व विकासका लागि रणनीतिक साझेदारी भएको छ। एआईटीको कार्यकारी शिक्षा इकाई ‘एआईटी एक्स्टेन्सन’ र डीएलएबीच हालै यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।
यस सहकार्यले नेपालको संगठनात्मक नेतृत्व र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको जनाइएको छ। समझदारी अनुसार दुवै संस्थाले संयुक्त रूपमा नेपाली वाणिज्य बैंक तथा कर्पोरेट क्षेत्रका लागि विशेष रूपमा तयार पारिएका छोटा अवधिका पाठ्यक्रम, प्रमाणीकरण कार्यक्रम र कार्यकारी प्रशिक्षणहरू सञ्चालन गर्ने डीएलएद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हस्ताक्षर समारोहमा बोल्दै दुवै संस्थाका प्रतिनिधिहरूले बदलिँदो डिजिटल परिवेश र सुशासनका चुनौतीहरूलाई चिर्दै उत्तरदायी नेतृत्व तयार पार्न यस्ता सीमापार साझेदारी आवश्यक रहेको बताए। यो साझेदारीले नेपाली जनशक्तिलाई विश्वव्यापी विशेषज्ञता र आधुनिक नेतृत्वका सिद्धान्तहरूसम्म पहुँच पुर्याउने अपेक्षा गरिएको ड्रकर लिडरसिप एकेडेमीले बताएको छ ।
डीएलएका अनुसार कार्यक्रमको पहिलो चरण सन् २०२६ देखि सुरु हुनेछ, जसमा नेतृत्व कार्यशाला, नीतिगत संवाद र व्यावहारिक अनुसन्धानका परियोजनाहरू समावेश हुनेछन्। यो पहलले विश्वव्यापी ज्ञान र स्थानीय आवश्यकतालाई जोड्दै नेपाललाई कार्यकारी नेतृत्व र नवप्रवर्तनको केन्द्र को रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस्