धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब माथि पुग्यो


काठमाडाैँ । धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब भन्दा माथि पुगेको छ । नेपालको धितोपत्र बजारको कुल पुँजीकरण २०८२ फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बजार पुँजीकरण रु.४५४३ अर्ब ८१ करोड रहेको थियो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेप्से परिसूचक पनि बढेको छ । २०८१ फागुन मसान्तमा २ हजार ७३६.४९ अंकमा रहेको नेप्से सूचकाङ्क २०८२ फागुन मसान्तमा बढेर २ हजार ८२०.४५ पुगेको छ ।

यद्यपि बजार पुँजीकरणको आकार बढे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात भने केही घटेको छ । २०८१ फागुनमा बजार पुँजीकरण जीडीपीको ७९.५९ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७.६९ प्रतिशतमा झरेको छ ।

यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेको छ । २०८२ फागुन मसान्तसम्म सूचीकृत कम्पनी २८६ पुगेका छन्, जबकि २०८१ फागुनमा यस्तो संख्या २६८ थियो ।

सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था तथा १० अन्य समूहका कम्पनी रहेका छन् ।

बजार पुँजीकरणको हिस्सामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको प्रभुत्व देखिएको छ । यी संस्थाहरूको हिस्सा ५२.२ प्रतिशत रहेको छ ।

त्यसपछि जलविद्युत् कम्पनीको १५.९ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७.२ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटल क्षेत्रको ३.१ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ । 

नेप्सेमा सूचीकृत कुल ९ अर्ब २६ करोड कित्ता सेयरको चुक्ता मूल्य रु.९११ अर्ब ९९ करोड पुगेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा धितोपत्र बजारमा थप ७० अर्ब ४६ करोड बराबरका धितोपत्र सूचीकृत भएका छन् ।

यसमध्ये ३६ अर्ब २८ करोड बराबरको साधारण सेयर, १२ अर्ब ५९ करोड बराबरको बोनस सेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, ७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर, ९२ करोड ५० लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरका अन्य धितोपत्र रहेका छन् ।

यसै अवधिमा नेपाल धितोपत्र बोर्डले पनि विभिन्न धितोपत्र सार्वजनिक निष्कासनका लागि ३७ अर्ब १ करोड बराबरको अनुमति दिएको छ । बोर्डले २३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, ८ अर्ब ७० करोड बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद सेयर,२० करोड बराबरको डिबेन्चर तथा ५ करोड बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको छ ।