उदयपुर। उदयपुर जिल्लाको बेलका नगरपालिका क्षेत्रलाई पूर्व नेपालकै नयाँ पर्यटकीय ‘हटस्पट’का रूपमा स्थापित गर्ने उद्देश्यका साथ ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव’ आयोजना गरिने भएको छ।
उदयपुर विकास बोर्डका अध्यक्ष बलदेव चौधरीका अनुसार जिल्लाको समग्र पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक-सामाजिक विकासलाई लक्षित गरी यो बृहत् कार्यक्रमको खाका तयार पारिएको छ।
महोत्सवले सप्तकोशी किनारको पर्यटन मात्र नभई , भूतियादह र बोप्ताङ जस्ता प्राकृतिक सम्पदाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने लक्ष्य राखेको छ।
नेपाल सरकारको १०० दिने शासकीय सुधार कार्ययोजनाको बुँदा नम्बर ७२ मा उदयपुरको कोशी नदी आसपास (बेलका–बोराबाँध क्षेत्रसहित) लाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने महत्वपूर्ण घोषणा गरिएको छ। उक्त बुँदामा यस क्षेत्रको पर्यटकीय सम्भाव्यता अध्ययन गरी एक महिनाभित्रै कार्यान्वयनयोग्य खाका तयार पार्ने र पूर्वाधार विकासलाई तीव्रता दिने उल्लेख छ। सरकारको यो सुशासन मार्गचित्रसँग महोत्सवलाई जोडेर बेलकालाई राष्ट्रिय गौरवको पर्यटकीय गन्तव्य बनाउने रणनीतिक तयारी आयोजकको छ।
महोत्सवको मूल लक्ष्य उदयपुरका आठवटै स्थानीय तहहरूबीच प्रशासनिक र पर्यटकीय ‘कनेक्टिभिटी’ बढाउनु, आर्थिक–सामाजिक सहकार्य मजबुत पार्नु र जिल्लाको एकीकृत विकास गर्नु रहेको जनाइएको छ। यसका साथै स्थानीय उत्पादन, मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने योजना अघि सारिएको छ।
महोत्सवको पूर्वतयारी र सुझाव संकलनका लागि बेलका पर्यटन विकास बोर्डका अध्यक्ष शिव थापाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा, बेलका नगर प्रमुख अशोक कार्की, बेलका नगरका पूर्वनगर प्रमुख दुर्गा थापा (स्वस्तिक), चौदण्डीगढीका पूर्व नगर प्रमुख खगेन्द्र राई र रौतामाईका पूर्व अध्यक्ष गजेन्द्र खड्का लगायतको उपस्थिति थियो।
बैठकमा सहभागी उद्योगी, व्यापारी र होटल व्यवसायीहरूले सरकारको १०० दिने योजनाले यस क्षेत्रको विकासमा नयाँ आशा जगाएको भन्दै महोत्सवलाई सफल बनाउन पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, स्थानीय स्वादिष्ट परिकारको प्रदर्शनीका साथै साहसिक खेलकुदहरू जस्तै प्याराग्लाइडिङ, मोटर बोटिङ, र रिभर राफ्टिङलाई मुख्य आकर्षणका रूपमा समावेश गरिनेछ। बोराबाँध जस्ता नयाँ विकसित गन्तव्यहरूलाई महोत्सवले विशेष प्राथमिकता दिने आयोजकले जनाएका छन्।
आयोजकहरूका अनुसार यो महोत्सव उदयपुरको समृद्धि र पहिचानलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसर हुनेछ। बेलका–बोराबाँध क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सम्भावनालाई एकीकृत गरी उदयपुरलाई पूर्व नेपालकै प्रमुख पर्यटकीय केन्द्र बनाउने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्