काठमाडौँ । सरकार आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम लेखनको तयारीमा जुटेको छ ।
अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति बनाएको हो ।
सङ्घीय संसद्मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न समिति बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।
समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
सङ्घीय संसद्को दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने र बजेट वक्तव्यको अन्तिम मस्यौदा पेश गर्ने मुख्य कार्यभार पनि यसै समितिको कार्यक्षेत्रभित्र तोकिएको छ ।
समितिमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल सदस्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्