काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वार्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि एकहप्तामा गरेको कामका विवरण सार्वजनिक गरेका छन् ।
वाग्लेले एकहप्ताको बिचमा २०८२ चैत १२ गतेसम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन् ।
उनले रास्वपाले सरकार बनाउनु अघिल्लो दिनसम्मको आर्थिक अवस्थाबारे स्वेतपत्र तत्काल तयार गर्ने निर्णय गरेका हुन् ।
यस्तै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका छन् ।
निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय वाग्लेको छ ।
मेरिटका आधारमा पदस्थापन
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर ३० जना उपसचिवको मेरिटमा आधारित पदस्थापन गरेका छन् । नियमित बढुवा भएका ३० जना राजश्व समूहका उपसचिवको योग्यतामा आधारित पदस्थापन गरिएको थियो ।
मन्त्रालयको आन्तरिक ब्रिफिङ
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय अन्तर्गतका महत्वपूर्ण महाशाखा तथा कार्यालयहरूको ब्रिफिङ लिइरहेका छन् ।
चैत्र १३ गते शुक्रबार पद तथा गोपनियताको शपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले नियमित छलफल र अन्तरक्रियामा जुटेका हुन् । उनले मन्त्रालय अन्तर्गतका कार्यालयको संरचना र कार्यप्रगति अवस्था, बजेट कार्यन्वयन, राजश्व सङ्कलन, राजस्व चुहावट नियन्त्रणका उपाय लगायतका विषयमा विस्तृतमा जानकारी लिइरहेको उनको सचिवालयले जनाएको छ ।
अहिलेसम्म अर्थमन्त्री डा.वाग्लेले ६ ओटा महाशाखा, २ विभाग, २ कार्यालय र एक प्राधिकरणको ब्रिफिङ लिइसकेका छन् ।
राजस्व चुहावट रोक्न निर्देशन
अर्थमन्त्री वाग्लेले उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न सुरक्षा निकाय र राजश्व प्रशासनलाई आग्रह गरेका छन् ।
सेवाग्राहीलाई दुःख र हैरानी नदिई राजस्व सङ्कलन गर्न र राजस्वको चालु आवको लक्ष्य पुरा गर्न मात्रै नभई राजश्व त्यो भन्दा बढी सङ्कलन गर्न निर्देशन दिए ।
निजी क्षेत्रलाई सरकारको प्राथमिकता र नीतिबारे जानकारी
एकहप्ताको बिचमा अर्थमन्त्री डा. वाग्लेले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।
अन्तरक्रियामा नयाँ राजनीतिक परिवेश, नयाँ सरकार गठनको जनादेशबारे निजी क्षेत्रलाई जानकारी गराएका थिए ।
सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित अगाडी बढ्ने भन्दै अर्थमन्त्री वाग्लेले सरकारलाई रचनात्मक ढङ्गले सहयोग गर्न र निश्चिन्त भएर लगानी बढाएर देशमा रोजगारी सृजना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
बजेट तयारी सुरु
अर्थमन्त्री डा.वाग्लेले आर्थिक वर्ष २०८३⁄८४ को बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका छन् । योबिचमा मन्त्री वाग्लेले तीन दर्जनभन्दा बढी निर्णयहरू गरेको उनको सचिवालयले जनाएको छ ।
राजस्व परामर्श सम्बन्धि अन्तरक्रिया
आगामी आर्थिक वर्षको बजेट लक्षित राजस्व परामर्श सम्बन्धि अन्तरक्रियामा अर्थमन्त्री वाग्ले सहभागी हुन थालेका छन् ।
शुक्रबार राजस्व परामर्श सम्बन्धि अन्तरक्रिया कार्यक्रम तथा देशकै ठुलो भन्सार कार्यालय अनुगमन तथा निरिक्षणका लागि वीरगञ्ज पुगेका थिए ।
सो क्रममा वीरगञ्ज एकीकृत भन्सार जाँचपास केन्द्र (आइसिपी) को निरिक्षण गरेका छन् । यस्तै आन्तरिक राजस्व कार्यालय पर्सा र बाराको निरीक्षण गरेर अर्थमन्त्री वाग्ले वीरगन्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटलाई सुझाव दिन आयोजित छलफल तथा अन्तरक्रियामा सहभागी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्