सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णय को विरोध गर्दै जवाफ माग गरेका छन् । 

सोमबार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उनले झण्डै २८ अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।

पुराना दलले मुलुकलाई ऋणमा डुबाए भन्दै ऋण नलिने वाचा गरेर आएको दलले सत्तामा आउनेबित्तिकै २८ अर्ब रुपैयाँ ऋण लिएको भन्दै उनले आश्चर्य प्रकट गरे । पुनले देशको आवश्यकताअनुसार ऋण लिनु स्वभाविक भएपनि त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिए ।  

उनले भने, “अहिलेका साथिहरु हामी ऋण लिदैनौँ । पुरानाहरुले मुलकलाई ऋणमा डुबाए भनेर उहाँहरु आउनुभएको हो । अनि आउँदाआउँदै एकैपटक २८ अर्ब ऋण लिनुभयो । यसबारे सरकारले जवाफ दिनेकुरा हो र जनताले बुझिहाल्छन् नि । ऋण लिन्नौँ भन्ने अनि आएकै दिन २८ अर्ब ऋण लिनेलाई जनताले पत्याउनुहुन्छ कसरी ? अहिले आवश्यकतामा ऋण लिनुपर्छ । त्यो मुख्य पूर्वाधार निर्माणमा खर्च गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । देशको आवश्यकता पूर्वाधार छ रोजगारी सिर्जना छ । यस्तो कुरामा ऋण लिनुर्छ । तर ऋण लिएर फजुल खर्च गर्नुहुन्न भन्ने हाम्रो सैद्धान्तिक मान्यता हो । यसको विरोध गरेरै आएका साथिहरु भएको कारण यसको जवाफ उहाँहरुले दिनुपर्छ ।”

उनले पूर्वाधार निर्माण र रोजगारीको क्षेत्रमा ऋणको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए ।