स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपिओएसमार्फत रणनीतिक साझेदारी


काठमाडौं ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी टेक ग्रुप प्रा. लि. बीच डिजिटल भुक्तानी क्षेत्रको प्रवर्द्धनका लागि रणनीतिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सहकार्यले डिजिटल भुक्तानी स्वीकार प्रणालीलाई थप सुदृढ, आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्झौतापछि सिटी टेकका हार्डवेयर (फिनपिओएस) मार्फत एससीटीको प्लेटफर्म प्रयोग गरी भुक्तानी स्वीकार गर्न सकिनेछ। यसअन्तर्गत भिसा, युनियनपे, नेपालपे लगायत विभिन्न कार्ड प्रणाली तथा स्मार्ट क्यूआरमार्फत डायनामिक क्यूआर भुक्तानी सेवा उपलब्ध हुने जनाइएको छ।

यस साझेदारीमार्फत एससीटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटी टेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीका लागि आधुनिक, सहज र विस्तारयोग्य पिओएस उपकरण उपलब्ध गराइनेछ। पिओएस एक्वायरिङ व्यवसाय सञ्चालन गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका लागि यो सेवा उपयोगी हुने विश्वास गरिएको छ।

विशेषगरी, विभिन्न कार्ड प्रणालीका लागि छुट्टाछुट्टै सदस्यता लिनु नपर्ने, प्रविधिमा थप लगानी घट्ने र सुरक्षा प्रमाणीकरणको झन्झट कम हुने भएकाले यो सेवा वित्तीय रूपमा आकर्षक रहने बताइएको छ।

एससीटीले डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि र नवप्रवर्तन प्रवर्द्धनमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको छ। फिनपिओएससँगको सहकार्यलाई उक्त प्रतिबद्धताको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

हाल एससीटीले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ। आफ्नै ‘स्मार्ट स्विच’ प्रणालीमार्फत एससीटी–युनियनपे र भिसा कार्ड जारी गर्नुका साथै भिसा, रुपे, मास्टरकार्ड र डिस्कभर कार्ड स्वीकार गरी कारोबार सेवा प्रदान गर्दै आएको छ।

दुई दशकभन्दा बढी समयदेखि एससीटीले नेपालभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको छ। यो नेपालकै पहिलो घरेलु कार्ड प्रणाली पनि हो। कार्ड सेवाका अतिरिक्त एससीटीले स्मार्ट क्यूआर, स्मार्ट पे (अन्तरबैंक भुक्तानी सेवा), मोबाइल बैंकिङलगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ।