काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८२ एक १ करोड ६० लाखको कारोबार गर्दै सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको एक्स्पो ५२ हजारले अवलोकन गरेका छन् ।
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा सोमबारसम्म चलेको एक्स्पोमा मेलाको पहिलो दिन ८ हजार, दोस्रो दिन १२ हजार र तेस्रो दिन १५ हजार चौथो दिन ८ हजार पाँचौं दिन ९ हजारले अवलोकन गरेको एसोसिएसनका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले जानकारी गराए ।
मेलाको पहिलो दिन २५ लाख, दोस्रो दिन ४० लाख र तेस्रो दिन शनिवार ६० लाख चौथो दिन १५ लाख पाँचौ दिन २० लाख रुपैयाको कारोबार भएको एसोसिएसनले जनाएको छ । एक्स्पोमा धेरै कारोबार गर्ने स्टलहरुमा गमला घर, अरुण नर्सरी, उदय गार्डेन, अल ट्रफिकल नर्सरी, दिक्षा नर्सरी लगायत देखिएका थिए ।

देशभर उपलब्ध पुष्प, फलफुल, कृषि वन तथा जडिबुडिका ७०० बढी प्रजातीका विरुवा एकै थलोमा पाइने भएकाले खरिद विक्री मेलामा भइरहेको छ । मौसमले साथ दिएको साथै फुलप्रेमीको मोहका कारण अवलोकनकर्ता बढेको एसोसिएसनका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
मेलामा कुल ६२ वटा व्यवसायीक स्टल, २ वटा फुड स्टल, ३ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ३ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहेका थिए । एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरण भएको संस्थाका महासचिव बिनोद घिमिले जानकारी दिए ।
एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल छन् । कृषि विभाग, वनस्पति विभाग तथा पुष्प विकास केन्द्र गोदावरी, बागमती प्रदेश कृषि मन्त्रालय र राष्ट्रिय फलफुल विकास केन्द्र किर्तिपुर लगायत मेलाका सह आयोजक रहेका थिए ।
एक्स्पोको समापन समारोह राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले एक्स्पोमा सहभागी व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गर्दै नर्सरी क्षेत्र सम्भाना र अवसरको बारेमा बोल्दै सरकारको तर्फबाट आवश्यक सहयोग तथा सहकार्यको प्रतिवद्धता गरे।



प्रतिक्रिया दिनुहोस्