काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ इरानमाथि हुने बमबारी र आक्रमण २ हप्ताका लागि रोक्ने घोषणा गरेका छन्। पाकिस्तानको मध्यस्थतामा भएको यो समझदारीलाई इरानले पनि पुष्टि गरेको छ ।
यससँगै दुई पक्षीय युद्धविराम भएको छ । इरानले होर्मुज जलडमरू पूर्ण रूपमा, तुरुन्त र सुरक्षित रूपमा खोल्ने शर्तमा युद्धविराम भएको हो ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र फील्ड मार्शल असिम मुनीरसँगको कुराकानीपछि म इरानमाथि आज राति पठाइने विनाशकारी शक्तिलाई रोक्न सहमत भएको छु। इरानले होर्मुज पूर्ण रूपमा खोलेमा २ हप्तासम्म बमबारी र आक्रमण रोक्नेछु। यो दुवै पक्षको युद्धविराम हुनेछ।”
उनले थप भनेका छन्, “हामीले इरानबाट १०-पोइन्ट प्रस्ताव प्राप्त गरेका छौं र यसलाई वार्ताको कामयाबी आधार मान्छौं। हामीले सबै सैन्य लक्ष्य पूरा गरिसकेका छौं र दीर्घकालीन शान्तिका लागि समझौता अन्तिम चरणमा छ।”
ट्रम्पले मंगलबार साँझ ८ बजे (अमेरिकी समय) सम्मको अल्टिमेटम दिँदै मानव सभयता माथि नै धावा बोल्ने धम्की दिएका थिए ।
ट्रम्को धम्कीपछि संयुक्त राष्ट्र संघ, अमेरिका भित्र र विश्वभरबाट विरोध गरिएको छ ।
इरानी विदेशमन्त्री अब्बास अरागचीले होर्मुजबाट जहाजहरू इरानी सेनाको व्यवस्थापनमा २ हप्तासम्म सुरक्षित पास दिने बताएका छन्।
इजरायलले पनि यो अस्थायी युद्धविराममा सहमति जनाएको छ। तर इजरायलतर्फ केही चिन्ता व्यक्त भएको छ। युद्धविरामको घोषणा भएलगत्तै इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको रिपोर्ट आएको छ।
अहिलेको स्थितिअमेरिकी सेनाले आक्रामक कारबाही रोकेको छ, तर रक्षात्मक तयारी भने जारी छ।
होर्मुज खुल्ने अपेक्षासँगै अन्तर्राष्ट्रिय तेल मूल्य घटेको छ।
यद्यपि यो युद्धविराम स्थायी नभएकाले कमजोर मानिएको छ। केही क्षेत्रमा मिसाइल अलर्ट र साना घटनाहरूको रिपोर्ट आइरहेका छन्।
विश्लेषकहरूका अनुसार यो पूर्ण शान्ति होइन, केवल अर्ध विराम हो। आगामी २ हप्तामा इस्लामाबादमा हुने वार्ताबाट स्थायी समाधान निस्कियो भने मध्यपूर्वमा ठूलो राहत हुन सक्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्