कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीमै : जोशी


काठमाडौँ ।नेपालको पर्यटन क्षेत्र अझै पूर्णरूपमा कोभिडअघिको अवस्थामा फर्किन नसकेको नेपाल पर्यटन बोर्ड ले जनाएको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी का अनुसार सन् २०२५ सम्म विश्व पर्यटन ४ प्रतिशतले बढिसक्दा पनि नेपाल भने अझै १–२ प्रतिशतले पछाडि रहेको छ।

उनका अनुसार सन् २०२५ मा १२–१५ प्रतिशतसम्म पर्यटक आगमन बढ्ने अपेक्षा गरिए पनि ‘जेन–जी’ आन्दोलन तथा दशैं–तिहारको समयमा आएको बाढी–पहिरोका कारण सडक अवरोध र उडान रद्द हुँदा लक्ष्य प्रभावित भएको हो।

यद्यपि पर्यटन आगमन कमजोर देखिए पनि होटल तथा रिसोर्ट क्षेत्रमा लगानी भने उल्लेखनीय रूपमा बढेको छ। कोभिडअघि करिब १०–१२ वटा पाँचतारे होटल रहेकोमा हाल १५ भन्दा बढी सञ्चालनमा आएका छन्।

सन् २०२६ को सुरुवात सकारात्मक देखिए पनि मध्यपूर्वमा बढ्दो तनावले नयाँ चुनौती थपिएको जोशीले बताएका छन्। जनवरीमा १५.७ प्रतिशत र फेब्रुअरीमा ८ प्रतिशतले पर्यटक आगमन बढे पनि मार्चमा हवाई मार्ग अवरोध र इन्धन संकटका कारण असर परेको उनले उल्लेख गरे। इन्धन अभाव लम्बिएमा यातायात, होटल तथा रेष्टुरेन्ट सेवा महँगो हुने र त्यसले पर्यटनमा प्रत्यक्ष असर पार्ने उनको भनाइ छ।

जोशीले नेपालको पर्यटन वृद्धि गर्न व्यवस्थापकीय सुधार अपरिहार्य रहेको औंल्याएका छन्। सडक पूर्वाधार, अध्यागमन सेवा, संरक्षित क्षेत्र व्यवस्थापन र आन्तरिक उडान ढिलाइ जस्ता समस्याले नेपालको छवि कमजोर बनाएको उनको धारणा छ।

साथै, उनले परम्परागत गन्तव्य काठमाडौं, पोखरा र चितवन बाहेक नयाँ पर्यटकीय क्षेत्रको पहिचान र ब्रान्डिङमा ध्यान दिनुपर्ने बताएका छन्। सामुदायिक वन, चराचुरुङ्गी अवलोकन र नदीमा एङ्गलिङ जस्ता नयाँ पर्यटन उत्पादनमार्फत नेपालले थप अवसर सिर्जना गर्न सक्ने उनको भनाइ छ।

पर्यटकलाई सहज सेवा दिन बोर्डले ‘क्राइसिस कोअर्डिनेसन सेल’ स्थापना गरी हड्ताल, कफ्र्यु वा विपद्का बेला समन्वय र उद्धारको व्यवस्था गरेको पनि उनले जानकारी दिए।