काठमाडाैँ । राष्ट्रिय सभाका सदस्यहरुले मूल्यवृद्धि नियन्त्रण र रासायनिक मल समयमा नै व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकको शुन्य समयमा उनीहरूले उपभोक्ताहरुको माग सम्बोधन गर्न सरकारको ध्यानार्कषण गराएका हुन् ।
राष्ट्रिय सभा सदस्य गीता देवकोटाले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मुलुकमा बढ्दो मूल्यवृद्धिले आम जनताको जीवनयापन अत्यन्तै कष्टकर बन्दै गएको बताइन् ।
उनले मूल्यवृद्धि नियत्रण गर्न सरकासंग माग गरिन् । किसानलाई प्रोत्साहन गर्ने स्पष्ट नीति अवलम्वन गर्न पनि सरकारसँग माग गरिन् । नेपालमा तरकारी, खाद्यान्न, फलफूल, मह तथा माछामासु उत्पादन गर्ने किसानलाई दीर्घकालीन रूपमा व्यवसायिक बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
आगामी बजेटमार्फत सरकारले अल्पकालीन तथा दीर्घकालीन ठोस कार्यक्रम ल्याई उत्पादन, भण्डारण, ढुवानी र बजार व्यवस्थापनलाई सुदृढ गर्नुपर्ने उनले बताइन् ।
उनले भनिन्, “मध्येपूर्वमा देखिएको द्वन्दको कारण देखाएर भईरहेको मूल्यवृद्धिको चपेटामा आम जनताको जीवनयापन अत्यन्तै कठिन बन्दै गएकोतर्फ अध्यक्षज्युमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । कृषिप्रधान मुलुक हाम्रो देशमा तरकारी, खाध्यन्न, फलफूल, मह, माछामासु लगायत उत्पादन गर्ने किसानहरुलाई दीर्घकालिन रुपमा व्यवसायिक बनाउन आवश्यक छ । यसको लागि राज्यले आगामी बजेटमार्फत अल्पकालिन तथा दीर्घकालिन ठोस कार्यक्रल ल्याएर उत्पादन, भण्डारण, ढुवानी र बजार व्यवस्थापनलाई सुदृढ गर्दै किसानलाई प्रोत्साहन गर्ने निति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
राष्ट्रिय सभा सदस्य रेखाकुमारी झाले प्रत्येक वर्षझैं यसवर्ष पनि रासायनिक मलको अभाव हुने जोखिम रहेको औंल्याइन् । हाल अमेरिका, इजरायल र इरानबिचको युद्धले आपूर्ति थप प्रभावित हुन सक्ने उनको भनाइ छ । सरकारले समयमै आवश्यक पर्ने मलको व्यवस्था गर्न गम्भीरता देखाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, “प्रत्येक वर्ष जस्तो अभाव हुने रसायनिक मल यसवर्ष पनि अमेरिका, ईजरायल र ईरानबीच भईरहेको युद्धको कारण थप अभाव सिर्जना हुने देखिएको छ । सरकार गम्भिर भई आवश्यक पर्ने रसायनिक मलको चाँजोपाँजो समयमा नै मिलाउन माग गर्दछु । मुलकको सबै क्षेत्रमा बन्यजन्तुले बाली नष्ट गरेर किसानको उठिबास भईरहेको छ, उनीहरुको समस्या तत्काल समाधान गरि किसानलाई राहत र क्षतिपूर्ती दिन माग गर्दछु ।”
उनले देशका विभिन्न क्षेत्रमा वन्यजन्तुले बाली नष्ट गर्दा किसानको जीविकोपार्जनमा ठूलो असर परेको उल्लेख गर्दै तत्काल समस्या समाधान गरी पीडित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।


प्रतिक्रिया दिनुहोस्