आर्थिक गणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुको लागि तालिम शुरु


काठमाडाैँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने राष्ट्रिय आर्थिक गणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुको लागि तालिम शुरु गरिएको छ । 

कार्यलयले देशभर बिहीबारदेखि तालिम शुरु गरेको हो । तालिम चैत ३० गतेसम्म सञ्चालन हुने र वैशाख २ गतेबाट गणकहरु तथ्याङ्क संकलनमा खटिनेछन् ।

आर्थिक गणना सञ्चालनको लागि फिल्डमा खटिने गणकहरुको तथ्याङ्कमा एकरुपता ल्याउन, सही सूचना तथा विवरणहरु संकलन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको जिल्ला आर्थिक गणना कार्यलय काठमाडौं (ग) स्वयम्भूका जिल्ला आर्थिक गणना अधिकारी किशोर केसीले जानकारी दिए ।

उनले तथ्याङ्क संकलन दुई किसिमबाट गर्ने बताए । मुख्य प्रश्नावली विधिमा गणकहरुले प्रश्नवाली सोध्ने र त्यसमा भरेर संकलन गर्ने गरिन्छ । ई सेन्सस पद्धतिबाट गरिने तथ्याङ्क भने सोझै तथ्याङ्क कार्यलयको सर्भरमा लिङ्क हुने उनले जानकारी दिए।

उनकाअनुसार गणकहरुले औधोगिक प्रतिष्ठान रहेको स्थान, प्रतिष्ठानले गर्ने आर्थिक क्रियाकलाप, वैधानिक अवस्था, व्यवस्थापक तथा रोजगारको विवरण, प्रतिष्ठानको वार्षिक आम्दानी तथा खर्च, प्रतिष्ठानका समस्या र सुझाब समेत संकलन गर्ने उनले जानकारी दिए ।

राष्ट्रिय तथ्याङ्क कार्यलयका निर्देशक ज्ञानेन्द्र बज्रचार्यले गणकहरुलाई सूचिकरण फारम, मुख्य प्रश्नवाली र उद्योग रहेको नक्शा दिएर तथ्याङ्क संकलनको लागि पठाउने बताए ।

गणकहरूले आफूले पाएको नक्शाभित्र रहेको क्षेत्रका प्रतिष्ठानमा गएर तथ्याङ्क संकलन गर्नुपर्नेछ । उनले प्रतिष्ठानहरुको संख्या, उनीहरुले राष्ट्रिय अर्थतन्त्र र रोजगार क्षेत्रमा पु¥याएको योगदान लगायतका विषयमा सही तथ्याङ्क संकलन गर्नको लागि आर्थिक गणना गर्न लागिएको जानकारी दिए ।

उनले दर्ता नगरि सञ्चालन भईरहेको प्रतिष्ठानहरुको पनि विवरण बाहिर ल्याउनेगरी आर्थिक गणनाको तयारी भइरहेको बताए । उनकाअनुसार एउटा प्रतिष्ठानको तथ्याङ्क संकलन गर्न २० देखि २५ मिनेटको समय लाग्नेछ ।