उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन, रवि लामिछानेको आश्वासनमा उम्मेदवारी दियौँः राप्रपा नेता शाही


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको खुलासा गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उपसभामुखमा पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उनले उपसभामुखको उम्मेदवारीले संसदमा पुराना र नयाँ भनिएका दलहरूको चरित्र उजागर गरेको दाबी गरे ।

उनले रास्वपाको धोकाले नयाँ र पुराना दलहरुको साइनबोर्ड मात्र फरक तर नीतिगत विचार एउटै भएको पुष्टि भएको टिप्पणी गरे । उनले उपसभामुख पदमा पार्टीको तर्फबाट दिइएको उम्मेदवारी केवल पदका लागि नभई आयातित व्यवस्था मान्नेहरू र विदेशीको गोटी बन्ने प्रवृत्ति विरुद्धको संघर्ष भएको पनि टिप्पणी पनि गरे ।

उनले भने, “रास्वपा सभापतिबाटै आश्वासन प्राप्त भएपछि पार्टी संसदीय दलको सर्वसम्मत निर्णयबाट उपसभामुख पदमा उम्मेदवारी दिएका हौँ ।  आजको हाम्रो उम्मेदवारीले राजनीतिमा कित्ता क्लियर बनाएको छ । हिजोका पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरु फरक फरक भएपनि उनीहरुबिचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ । यो व्यवस्थाको विकल्पमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्ने स्पष्ट कित्ता छुट्टिएको हामीले महशुस गरेका छौँ । हाम्रो उम्मेदवारी केवल एक थान उपसभामुखको लागि मात्र थिएन । यो त आयातित व्यवस्था मान्नेहरु र विदेशीको गोटी भइरहनेहरुका प्रवृत्तिका विरुद्ध थियो ।”

रास्वपा सभापति लामिछानेको ग्रीन सिग्नलपछि बिहीबार राप्रपा सांसद लामाले उपसभामुख पदमा उम्मेदवारी दिएकी थिइन् ।