काठमाडौँ । नेपालका ब्रुअरी बादशाह भनेर चिनिने जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका राजबहादुर शाहले बहुराष्ट्रिय कार्ल्सबर्ग समूहसँग सेयर मिलान सम्झौतामार्फत गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर किनेपछि अर्को बहुराष्ट्रिय कम्पनी कोकाकोला वेभरेज नेपालको स्वामित्वमा पनि फेरबदल हुने देखिएको छ।
यसको बदलामा गोर्खा ब्रुअरीले राजबहादुर शाहको पूर्ण स्वामित्व रहेको राज ब्रुअरीको १०० प्रतिशत शेयर खरिद गरेको छ ।
कार्ल्सबर्गका अध्यक्ष हेनरिक पाउलसन र जाउलाखेल ग्रुपका सीईओ सशिन जोशीले राजधानीमा औपचारिक कार्यक्रममा स्थानीय साझेदारी सेयर हस्तान्तरण गरेका हुन्। राजबहादुर शाह अब गोर्खा ब्रुअरीको सञ्चालक समितिमा समेत रहने छन् ।
यो क्रस-सेयर होल्डिङ कारोबारले बोटलर्स नेपाल लिमिटेड (बीएनएल) मा गोर्खा ब्रुअरीको २२ प्रतिशत सेयरमार्फत अप्रत्यक्ष स्वामित्व संरचनामा परिवर्तन हुनेछ।
गोर्खा ब्रुअरीको कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट ‘बोटलर्स नेपाल लिमिटेड’ मा २२ प्रतिशत सेयर हिस्सा रहँदै आएको छ भने कार्ल्सबर्ग ग्रुपले खेतान समूहबाट पूर्ण स्वामित्व किनिसकेपछि सन् २०२५ जनवरीदेखि गोर्खा ब्रुअरीका प्रबन्ध निर्देेशक अरुण अधिकारीले बोटलर्स नेपालको सञ्चालक समिति सदस्यको जिम्मेवारी पनि लिँदै आएका छन्। यसअघि वर्षौँसम्म खेतान समूहअन्तर्गत रहँदा सुरेन्द्र सिलवाल सञ्चालक समिति सदस्य रहने गरेका थिए ।
खेतान समूहको १० प्रतिशत मात्र साझेदारी हुँदा पनि विगतमा कोकाकोलाको सञ्चालक समितिमा उनीहरूको प्रभावकारी प्रतिनिधित्व रहने गर्दथ्यो।
सन् २०११ मा खेतान समूहले आफ्नो सम्पूर्ण २२ प्रतिशत सेयर गोर्खा ब्रुअरीलाई बिक्री गर्दा यो नेपालको इतिहासकै सबैभन्दा ठूलो अन्तर-कम्पनी सेयर कारोबारमध्ये एक बनेको थियो। त्यसबेला खेतान समूहले ७२ करोड ५१ लाख रुपैयाँमा आफ्नो स्वामित्वको सेयर बेचेको थियो ।
गोर्खा ब्रुअरीको बलियो ‘स्थानीय साझेदार’ का रूपमा राजबहादुर शाहको प्रवेशसँगै कोकाकोला वेभरेज नेपालको रणनीतिक निर्णय र सञ्चालन तहमा शाहको ‘मालिकाना हक’ स्थापित भएको छ।
बोटलर्स नेपालको स्वामित्व किनबेचसम्बन्धि मूल्याङ्कनबाट हाल उक्त कम्पनीमाथि करिब १६ अर्ब रुपैयाँ कर दायित्व छ।
दक्षिण अफ्रिकाको गुत्से परिवारले सन् २०१४ मा आफ्नो सत प्रतिशत सेयर द कोकाकोला कम्पनीको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुप बीआईजीलाई बेचेपछि यस स्वामित्व किनबेच प्रकरणमा कर छलिएको पुष्टि भएको थियो।
बोटलर्स नेपाल लिमिटेड हाल सन् २०१४ मा भएको ‘अप्रत्यक्ष अफसोर स्वामित्व परिवर्तन’ का कारण १५.६ अर्ब रुपैयाँको कर विवादमा सर्वोच्च अदालतमा लडिरहेको छ।
त्यसबेला दुबईस्थित कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर आयरल्याण्डको कम्पनीलाई बिक्री गर्दा आयकर ऐनको दफा ५७ बमोजिमको ‘नियन्त्रणमा परिवर्तन’ सम्बन्धी कर छली भएको राजस्व अनुसन्धान विभाग र ठुला करदाता कार्यालयले ठहर गरेका थिए।
आयकर ऐन, २०५८ को दफा ५७ ले कुनै पनि निकायको ‘अन्तर्निहित स्वामित्व’ तीन वर्षभित्र ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भएमा सो कम्पनीको सम्पत्ति र दायित्व बिक्री भएको मानेर ‘डिम्ड डिस्पोजल’ कर लगाउने व्यवस्था गरेको छ।
यो विवाद लम्बिएसँगै द कोकाकोला कम्पनी एटलान्टाले आफ्नो मुख्य लगानी संयन्त्र बीईजी नै लिक्विडेसनमा लगिसकेको छ।
सहायक कम्पनी बोटलर्स नेपाल तराईले तत्कालीन ओली सरकारको निर्णयअनुसार आर्थिक ऐनमा विशेष प्रावधान राख्न लगाइ कर दायित्वको ७८ करोड रुपैयाँ तिरेर बाँकी करिब पौने २ अर्बको दायित्व सुल्झाए पनि एनसेलको नजीरअनुसार मुख्य लगानी संयन्त्र बोटलर्स नेपाल लिमिटेडले ढिलोचाँडो बाँकी कर तिर्नैपर्ने अवस्था छ।
नेपालको कर विवाद सल्टाएर यहाँको स्वामित्व नै अर्को साझेदारलाई जिम्मा लगाउन विगत तीन वर्षदेखि प्रयास गरिरहेको द कोकाकोला कम्पनीलाई गोर्खा ब्रुअरीमा जाउलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिजको प्रवेशपछि नयाँ मोड आएको एक कम्पनी विश्लेषकले बताए।
स्मरणीय छ टक्सार मिडिया ग्रुपले द कोकाकोला कम्पनीले आफ्नो मूल स्वामित्वको ७६ प्रतिशत सेयर पनि कर विवाद नसल्टिँदै लखनउको ग्रुपलाई बेच्न लागेकोसमेत खुलासा गरिसकेको छ ।
विसं २०२९ सालमा दर्ता भइ २०३४ सालदेखि स्थापना भएको बोटलर्स कम्पनीमा सुरुवाती चरणदेखि नै अधिकाजकुमारी हेलन र आफूले साझेदारी गरेको भारतको स्टिल बेभरेज प्रालिका मुख्य लगानीकर्ता नकुल कमानीले टक्सारसँगको अन्तर्वार्तामा खुलासा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्