काठमाडाैँ । पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रूपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् ।
मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताए । प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवा २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक हो ।
यो भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारको हुने मेयर आचार्यको भनाइ छ । जुन आफैँमा एउटा पर्यटकीय आकर्षण बन्नेछ । यसले झडै ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उनले बताए ।
त्यस्तै, कोइकाको झन्डै २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण हुँदैछ । लेखनाथको पुरानो भवन भएको ठाउँमा एशीयाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्रको टेण्डर प्रक्रिया शुरु भइसकेको छ ।
पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने एडीबीकै प्रोजेक्ट अघि बढेको छ भने शान्ति वाटिकामा बोटानिकल गार्डेन बनिरहेको मेयर आचार्यले बताए ।
उनले भने, “हामीले कोइकाको झन्डै २ अर्वको सपोर्टमा हामीले जलन केन्द्र नामक अस्पताल बनाउँदैछौँ । त्यसमा नै बेबी केयर सेन्टर वा केही पनि व्यवस्था गर्ने निर्णय गर्न बाँकि छ । त्यसै ठाउँमा विपद व्यवस्थापन केन्द्र एशियाली विकास बैंकको सहयोगमा टेण्डर आह्वान प्रक्रिया शुरु भएको छ । पोखरा तालैतालको शहर हो । सबै तालहरुलाई जोडने साईकललेन बन्दैछ । त्यो एडीबीकै प्रोजेक्ट हो ।”
शान्ति वाटिकामा बोटानिकल गार्डेन बन्ने उनले जानकारी दिए । पोखराको पुरानो बजारलाई हनुमानढोका वा बन्दीपुर जस्तै ‘हेरिटेज साइट’ को रूपमा विकास गर्ने गुरुयोजना तयार भएको छ । पञ्चासे क्षेत्रमा सवा अर्बको रिसर्च सेन्टर र टु–लेन स्टान्डर्डको बाटो बन्दैछ ।
“पञ्चासे क्षेत्र हाम्रो महत्वपूर्ण क्षेत्र हो । त्यसमा झन्डै सवा अर्बको एउटा रिसर्च सेन्टर बनाउने र त्यसको टु लेन स्टाण्डर्डको बाटो बन्दैछ । अर्को वल्र्ड बैंकको सहयोगमा तालचोक बेगनासको बाटो, सिसाघाट बाटो, कोत्रेदेखि विरौटासम्मको बाटो जुन अहिले करिव सकिने अवस्थामा छन् । आजै जानुभयो भने पनि देख्नुहुन्छ । त्यहाँ झलमल्ल बत्ती बलिरहेको पनि देख्नुहुन्छ । आज पोखरा उज्यालो पोखरा छ,” उनले भने, “शहरका मुख्यमुख्य चोकहरुमा हाईमाक्र्स बत्ती बलिराखेको छ । उज्यालो पोखरा कार्यक्रम हामीले तीन वर्षअघि नै गरेको हो । यो सबैभन्दा पहिला हामीले नै शुरु गरेको हो । आज पोखरा तपाईंले खनेको देख्नुहुन्छ । मुुख्य बजारको बिजुलीलाई हामीले अण्डरग्राउण्ड गरिराखेका छौँ । यो पनि एडीवीकै प्रोजेक्ट हो । त्यो काठमाडौं, भरतपुर र पोखरा बाहेक अन्यत्र यो प्रोग्राम शुरु भई सकेको छैन ।”
‘उज्यालो पोखरा’ कार्यक्रम अन्तर्गत शहरका मुख्य चोकहरूमा हाईमास्ट बत्तीहरू जडान गरिएका छन् भने मुख्य बजारको बिजुलीको तारलाई ‘अण्डरग्राउण्ड’ गर्ने काम तिब्र गतिमा अघि बढेको छ । विश्व बैंकको सहयोगमा तालचोक–बेगनास, सिसाघाट र कोत्रे–विरौटा सडकहरूको स्तरोन्नति भइरहेको छ, जसले पोखरालाई एउटा आधुनिक र सुरक्षित शहरको रूपमा स्थापित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्