काठमाडौँ । श्री एयरलाइन्सले ६ महिनामा नै साढे २ अर्बभन्दा बढीको व्यापार गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । २०८०/८१ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, २०७९/०८० मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
समग्र तथ्याङ्क हेर्दा श्री एयरलाइन्सको व्यापार बढ्दै गएको छ । कम्पनीको कुल आम्दानीमध्ये करिब ९२ प्रतिशत विमान सेवाबाट र बाँकी ८ प्रतिशत हेलिकप्टर सेवाबाट प्राप्त हुने गरेको छ ।
श्री एयरलाइन्स सन् १९९९ मा एयर अनन्या नामबाट सञ्चालनमा आएको थियो । पछि नाम परिवर्तन गरेर श्री एयरलाइन्स बनेको हो ।
कम्पनीसँग कुल ९ वटा बम्बार्डियर विमान सञ्चालनमा रहेका छन् । तीमध्ये २ वटा जेट विमान र ७ वटा टर्बोप्रप विमान छन् ।
२ वटा टर्बोप्रप विमान लिजमा लिइएका हुन् । हेलिकप्टरतर्फ कम्पनीसँग ६ वटा एमआई–८ र २ वटा एयरबस हेलिकप्टर रहेको विवरण छ ।
कम्पनीले ऋण व्यवस्थापनमा पनि सुधार गरेको तथ्याङ्कले देखाउछ । कुल ऋण सीमा ४ अर्ब ३६ करोड ८४ लाख रुपैयाँबाट घटाएर ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ कायम गरिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । प्रतिकित्ता २०० रुपैयाँ दरमा ६३ लाख कित्ता बराबरको १ अर्ब २६ करोड को आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्