नीति निर्माण र कार्यान्वयनका बिचमा देखिएको खाडल घटाउन आवश्यकः स्वास्थ्य सचिव देवकोटा


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ समापन समारोहमा सम्बोधन गर्दै सचिव देवकोटाले नीतिहरुको कार्यन्वयनमा जोड दिनुपर्ने बताएका हुन् ।

उनले देश स्थिरताको चरणतर्फ उन्मुख रहेकोको उल्लेख गर्दै नयाँ सोचसहितको प्रणाली लागू गर्ने अवसर आएको बताए । तथ्यमा आधारित निर्णय प्रक्रियाले मात्र स्वास्थ्य सेवामा सुधार सम्भव हुने उनको भनाइ छ । उनले सुशासनसँग जोडिएर नीति नियम निर्माण गर्ने र त्यसको कार्यन्वयन गरी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए ।

परिवर्तनको सानो काम बाट नै सुरुवात हुने भन्दै उनले शुरुमा आफ्नो व्यक्तिगत व्यवहारमा सुधार गर्न आग्रह गरे । उनले परिषद्लाई अझ प्रभावकारी बनाउँदै देशव्यापी रूपमा विस्तार गर्नुपर्ने बताए । अनुसन्धान, कार्यान्वयन र अनुगमन एउटै थलोबाट समन्वय हुने परिषद्को संरचना अझ बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

युवाहरूको अनुसन्धानमा सहभागिता बढ्दाे रूपमा रहेको उल्लेख गर्दै उनले सेवा विस्तारमा थप ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा हुने अनुसन्धानहरू सरकारको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँग जोडिनुपर्नेमा जोड दिँदै त्यसबाट स्वास्थ्य सेवाको गुणस्तरमा ठोस सुधार ल्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

उनले परिषद्लाई सरकारले जारी गरेको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँगका आधारमा आगामी वर्षको बजेट तथा निति कार्यक्रम बनाउन आग्रह गरे ।