पर्यटन प्रवर्द्धनका लागि पर्यटन दौडः अमेरिका लगायत देशबाट आउने पर्यटक घटे


काठमाडाैँ । पोखराको लेकसाइडमा आयोजित फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पर्यटन दौड सम्पन्न भएको छ ।

नयाँ वर्ष २०८१ को स्वागतार्थ आयोजित यस दौडमा स्थानीय बासिन्दा, पर्यटक र खेलाडीहरू गरी ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो । दौडको मुख्य उद्देश्य पोखराको पर्यटन प्रवद्र्धन र स्वास्थ्य सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको यस दौडमा ३ किलोमिटरको विधा समावेश गरिएको थियो । दौड खहरेबाट अम्बोटसम्म भएको थियो । यस दौडमा विश्वका विभिन्न २८ देशका पर्यटकहरूले उत्साहजनक सहभागिता पर्यटन दौड संयोजक प्रतिक पहारीले बताए ।

अस्ट्रेलिया, क्यानडा, युरोप, भारत र चीन लगायतका विभिन्न मुलुकबाट आएका पर्यटकहरूले यस दौडमा भाग लिएका थिए । नयाँ वर्षको अवसरमा विदेशी पाहुनाहरूलाई नेपाली संस्कृतिसँग परिचित गराउने र उनीहरूलाई अपनत्व महशुस गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको पर्यटन दौड संयोजक पहारीले जानकारी दिए ।

२१ औँ फेवा नयाँ वर्ष महोत्सव (स्ट्रिट फेस्टिभल) को अवसरमा आयोजित यस कार्यक्रमले पोखराको पर्यटन क्षेत्रमा ठूलो ऊर्जा थपेको छ । संयोजक पहारीका अनुसार हाल पोखराका होटलहरूमा ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको छ, जसले व्यवसायीहरूमा उत्साह जगाएको छ । विदेशी पर्यटकहरूलाई नेपाली परम्परा र संस्कृतिसँग जोड्ने एउटा महत्वपूर्ण कडीको रूपमा यो इभेन्ट स्थापित भएको उनले बताए ।

उनले भने, “हाम्रो मुख्य योजना विदेशीहरूलाई नेपाली नयाँ वर्षको बारेमा जानकारी दिने, उनीहरूलाई सांस्कृतिक रूपमा घुलमिल गराउने र यो उत्सव उनीहरूकै पनि हो भन्ने महशुस गराउनु हो। होटल एशोसिएशनको टिम वर्कले गर्दा हामीले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्यौँ ।”

केही समयअघिको राजनीतिक आन्दोलन र अस्थिरताका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः लयमा फर्किन थालेको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका संयोजक मोडी लामिछानेले बताए । उनले नेपाल पर्यटन बोर्ड र स्थानीय पर्यटकीय संघसंस्थाहरूको सक्रियतामा सञ्चालित ‘टुरिजम रिभाइभल’ (पर्यटन पुनरुत्थान) कार्यक्रमहरूले पोखरामा पर्यटकको चहलपहल बढाएको बताए ।

उनकाअनुसार जेन–जी आन्दोलनका कारण करिव डेढ महिना सुस्ताएको आन्तरिक तथा वाह्य पर्यटन अहिले सुधारोन्मुख छ । पर्यटन बोर्डले होटल संघसँग मिलेर पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्नुका साथै अन्य सम्भावित स्रोत बजारहरूमा ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गरिरहेको छ ।

पछिल्लो समय पश्चिम एशिया (मध्यपूर्व) मा भइरहेको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही नकारात्मक प्रभाव देखिएको छ । विशेष गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उनले जानकारी दिए । यद्यपि, पश्चिमा पर्यटक घटे पनि छिमेकी मुलुक भारत र दक्षिण–पूर्वी एशियाली मुलुकहरूबाट आउने पर्यटकको संख्यामा १५ देखि २० प्रतिशतले वृद्धि भएको छ ।

जसका कारण समग्र पर्यटक आगमनको तथ्याङ्क गत वर्षकै हाराहारीमा रहेको छ । पर्यटन बोर्डले अब आफ्नो ध्यान दक्षिण–पूर्वी एशिया, जापान, कोरिया र अष्ट्रेलियातर्फ केन्द्रित गरेको छ । यी क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनका लागि भौतिक उपस्थिति जनाउने, चर्चित भ्लगरहरूलाई निम्त्याउने र अन्तर्राष्ट्रिय मिडियामार्फत नेपालको प्रचार गर्ने योजना अघि सारिएको छ ।

उनले भने, “नेपाल आउने पश्चिमा पर्यटकहरू मुख्यतया टर्की वा मध्यपूर्वी देशहरूलाई ट्रान्जिट बनाएर आउने गर्छन् । द्वन्द्वका कारण ती क्षेत्र प्रभावित हुँदा युरोप र अमेरिकाबाट हुने आगमनमा गत वर्षको मार्चको तुलनामा यस वर्ष २० देखि २२ प्रतिशतले गिरावट आएको छ ।”

नयाँ वर्षको पहिलो दिन पोखरामा पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।