काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीले अंगीकार गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व सहयोग र विपद् व्यवस्थापन अवधारणाले मुलुकको सुरक्षामा प्रभावकारी योगदान पु¥याएको विश्वास व्यक्त गरे ।
गृहमन्त्रीले तालिम शिक्षालयहरूको स्तरोन्नति र गुणस्तर अभिवृद्धिका लागि गृह मन्त्रालयले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । दीक्षित हुनुभएका सशस्त्र प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै मन्त्री गुरुङले शाहस, अनुशासन र इमान्दारितालाई जीवनको मार्गदर्शक सिद्धान्त बनाउन आग्रह गरे ।
उनले ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहेको चर्चा गर्दै शान्ति सुरक्षा कायम गर्न सङ्गठनको भुमिका महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘सङ्गठनलाई आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, सुरक्षा सामग्री र बन्दोबस्ती व्यवस्थापनमा नीतिगत तथा कार्यान्वयन तहमा सहयोग गर्न मन्त्रालय प्रतिवद्ध छ । लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनलाई आत्मसात गर्दै राष्ट्र र जनताप्रति इमानदार भएर कार्य गर्नु आजको आवश्यकता हो ।’
मन्त्री गुरुङले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्