सेवा प्रवाह र आर्थिक सुधार सरकारको मुख्य प्राथमिकताः अर्थमन्त्री


काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकार सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सरकार नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिँदै अघि बढिरहेको बताए ।

उनकाअनुसार सरकार सेवा प्रवाहमा केन्द्रित छ । उक्त सेवा प्रवाह डिजिटल माध्यम र कतिपय अवस्थामा राज्य संयन्त्रलाई नै चलायमान बनाएर गरिने बताए । 

अर्थमन्त्री वाग्लेले सेवामुखी भावनाका साथ शासन प्रणाली (गभर्नेन्स) सुधारतर्फ काम भइरहेको बताए । उनकाअनुसार म्याक्रो तहका नीतिगत सुधार र माइक्रो तहमा सेवा प्रवाह सुधार दुवैलाई समान रूपमा अघि बढाइएको छ ।

उनले सरकारको अर्को प्रमुख प्राथमिकता आर्थिक सुधार (इकोनोमी रिफर्म) भएको उल्लेख गर्दै सबै क्षेत्रमा सुधार र रूपान्तरणको अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनकाअनुसार हरेक क्षेत्रमा पछाडि हट्ने होइन, कसरी अघि बढ्ने, कसरी सुधार गर्ने, बिग्रिएको छ भने कसरी बनाउने र आवश्यक परे छलाङ नै मार्ने भन्ने दिशामा सरकार सोचिरहेको छ । 
पर्यटन, निर्माण, कृषि, सिंचाई, ऊर्जा लगायतका सबै क्षेत्रमा समग्र सुधार र विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको उनले बताए । अर्थमन्त्रीकाअनुसार आफूले पदभार सम्हालेपछि पहिलो दिनमै राजस्व अनुसन्धान विभाग खारेज गरिएको भए पनि त्यसका मुख्य कामहरू भने अन्य निकायमार्फत निरन्तर अघि बढाइएको छ ।

उनले कानूनी सुधारतर्फ पनि सरकार सक्रिय रहेको जनाउँदै पुराना ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनकाअनुसार अन्य दर्जनौँ ऐनहरूलाई बजेटमार्फत संशोधन वा खारेज गर्ने तयारी भइरहेको छ । आर्थिक सुधारलाई तिब्रता दिन आवश्यक परे अध्यादेश वा बजेटमार्फत ठूला संरचनात्मक परिवर्तन ल्याउने योजना सरकारको रहेको उनले स्पष्ट पारे ।

सरकारले सेवा प्रवाहदेखि नीतिगत सुधारसम्म व्यापक परिवर्तनको तयारी गरिरहेको सन्देश दिँदै अर्थमन्त्री वाग्लेले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ काम भइरहेको समेत बताए ।