काठमाडौँको असन हरेक शनिबार ‘भेहिकल फ्री’


काठमाडौँ । काठमाडौँको व्यस्त बजारमध्येको एक असन आजदेखि हरेक शनिबार सवारीसाधन मुक्त हुने हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्तीसमेत रहेको असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको हो ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सवारी साधनमुक्त हुने जानकारी दिइन् ।

शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् ।

उक्त क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गरिने छ ।

कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन।

यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ ।