काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन् ।
आइतबार नुवाकाेटकाे विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा उनले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग्री फैलाउनु उचित नहुने स्पष्ट पारे ।
उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।
“सरकार सबै समस्याको समाधान कारबाहीबाट मात्रै खोज्ने पक्षमा छैन, सञ्चार क्षेत्र आफैं जिम्मेवार बन्नु जरुरी छ,” उनले भने ।
मन्त्री तिमिल्सिनाले हरेक समाचारले पार्ने असरबारे गम्भीर विश्लेषण गर्नुपर्ने बताउँदै भ्रामक सूचनाले छोटो समयमै ठूलो क्षति पुर्याउन सक्ने बताए । साथै, सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता ल्याउन सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी पनि दिए ।
उनका अनुसार सरकारी सूचना सरकारी सञ्चारमाध्यममार्फत् प्रवाह गर्ने व्यवस्था पारदर्शितासँग जोडिएको विषय हो । सञ्चार जगत आफैले उठान गरेका यस क्षेत्रका अनियमितता हटाउन सरकार अघि बढेको उनको भनाइ छ ।
त्यस्तै, सञ्चार क्षेत्र बलियो र जिम्मेवार नभएसम्म सरकार पनि प्रभावकारी बन्न नसक्ने उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए । तथ्यमा आधारित र समाधानमुखी पत्रकारितामा जोड दिनुपर्ने उनको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाले सरकारले काम र परिणाममार्फत् जवाफ दिने नीति लिएको स्पष्ट पारे । “सरकार अफवाह नभइ नीति र नतिजामा विश्वास गर्छ । सञ्चार जगत तथा सबै नागरिकले सत्यमा आधारित भएर प्रश्न गर्ने र खबरदारी गर्न सके सरकार जवाफदेही हुन्छ,” उनले भने ।
नयाँ सरकार गठन भएको छोटो समयमै जनताको आवश्यकता बुझेर काम सुरु गरिएको बताउँदै उनले सेवा प्रवाह सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए । विगतमा देखिएका कमजोरी सुधार्दै अहिले परिणाममुखी काम भइरहेको उनको दाबी छ ।
उनले नागरिकलाई सरकारप्रति निरन्तर प्रश्न गर्न र निगरानी राख्न आग्रह गर्दै सत्यमा आधारित आलोचना र सुझाव आवश्यक रहेको बताए । साथै, प्रविधिको प्रयोग बढाएर सेवा प्रवाह सहज बनाउने योजना पनि सरकारले अघि सारेको जानकारी दिए ।
युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यका साथ काम भइरहेको उल्लेख गर्दै उनले तीनै तहका सरकारबिच सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताए । तीन तहका सरकार र निकायबीच अनावश्यक विवादभन्दा सहकार्यबाटै समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया दिनुहोस्