विद्यार्थी नेता भन्छन्- ‘बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त हुँदैन’


काठमाडाैँ । नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ । समय र प्रविधिको मागअनुसार पुरानो ढर्रा त्यागेर राजनीतिमा ‘अपडेट’ र शुद्धीकरणको आवश्यकता औँल्याइएको छ ।

आन्दोलनलाई विचारको ‘नर्सरी’ मान्दै यसलाई उपेक्षा गर्ने र प्रशासनिक बलमा सिध्याउने खेलको प्रतिवाद विद्यार्थी नेताहरूले गरेका छन् । विद्यार्थी नेतृत्वलाई आफ्ना पार्टीका शिर्ष नेताको छायाँ मात्र नबनी शैक्षिक मुद्दामा केन्द्रित भएर सडक संघर्षमा खटिन पूर्व नेतृत्वले निर्देशन दिएका छन् । आन्दोलनको गरिमा फर्काउन बदलिँदो सामाजिक मनोविज्ञान बुझ्ने र आचरणगत सुधार गर्दै नीतिगत लडाई लड्न आफूहरु तयार रहेको विद्यार्थी नेता बताउँछन् । 

नेपाली काँग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक ढर्राले परिणाम नदिने बताए । संयुक्त विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै नेता महरले राजनीति र विद्यार्थी आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको बतएका हुन् ।

उनले भने, “प्रश्नपत्र ४८ सालको छ, पाठ्यक्रम पनि त्यही बेलाको छ र हामी ८२ सालमा त्यही उत्तर लेखेर पास हुन खोज्दैछौँ । समाजको मनोविज्ञान र प्रविधि फेरिइसक्यो, तर हाम्रो काम गर्ने शैली अझै पुरानै छ । पेन्टियम–३ को कम्प्युटरले आजको समयमा काम गर्दैन, सोसाइटीले अपडेट खोजेको छ । विद्यार्थी राजनीति समाप्त गर्ने कुरा होइन तर यसको चरित्रमा सुधार जरुरी छ ।”

उनले विगत ३५ वर्षको शासन व्यवस्थाको लेखाजोखा नगरेका कारण र युवा पुस्ताको भावना बुझ्न नसक्दा राजनीतिले अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरे । विद्यार्थी राजनीतिलाई विस्थापित गर्ने प्रयास भइरहेको प्रति संकेत गर्दै महरले यसलाई हटाउने नभई सुधार गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयहरूबाट ब्यानर र कार्यलयहरू हटाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालयको नियमावली र संविधानले ग्यारेन्टी गरेको अधिकार भएको दाबी गरे ।

नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुदेश पराजुलीले विद्यार्थी आन्दोलन कुनै व्यक्तिको इच्छाले खारेज नहुने बताए । पराजुलीले विद्यार्थी आन्दोलनको जन्म सडक र संघर्षबाट भएको भन्दै यसलाई कसैले पनि अन्त गर्न नसक्ने जिकिर गरे । पराजुलीले वर्तमान विद्यार्थी नेतृत्वलाई आफ्ना माउ पार्टीका शिर्ष नेताहरूको छायाँ मात्र नबन्न आग्रह गरेका छन् ।

उनले वैकल्पिक शक्तिका नाममा आएकाहरुलाई सडकमा आएर लोकतान्त्रिक प्रतिष्पर्धा गर्न चुनौती समेत दिए । विद्यार्थी आन्दोलनको ओरालो यात्रा विश्वविद्यालयहरूबाट पिसिएल (प्रविणता प्रमाण पत्र तह) विस्थापित गरेपछि शुरु भएको पराजुलीको तर्क छ ।

पराजुलीले विद्यार्थी नेताहरूलाई आन्तरिक विवाद छोडेर सडक संघर्षमा उत्रिन निर्देशन दिए । विद्यार्थी आन्दोलन नेतालाई प्रश्न गर्ने र जवाफदेही बनाउने पाठशाला भएको भन्दै उनले सडकबाटै वर्तमान बेथितिको ठेगान लगाउनुपर्नेमा जोड दिए ।

पराजुलीले भने, “खबरदार ! बालेनको डायरीबाट विद्यार्थी आन्दोलन जन्मिएको होइन । बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त वा खारेज पनि हुँदैन । नवीन पौडेलजी शेरबहादुर देउवाको अनुहार जस्तो होइन, नेविसंघको सैद्धान्तिक आलोकमा उभिनुपर्छ । दीपक धामीजी ओली जस्तो होइन, अनेरास्ववियु जस्तो देखिनुपर्छ । विजय सापकोटा र महेश श्रेष्ठजीहरू पनि प्रचण्ड वा माधव नेपालको अनुहार जस्तो होइन, विद्यार्थी आन्दोलनको चरित्र बोकेर अघि बढ्नुपर्छ । विद्यार्थी नेता भनेको दृढता, आँट र साहस भएको मान्छे हो । सत्ताको घमण्ड गर्ने र लफङ्गाहरूको शासनसँग डराउनु पर्दैन । एउटै व्यक्तिले भए पनि जिन्दावाद र फासिस्ट सरकार मुर्दावाद भन्न सक्ने आँट गर्नुपर्छ ।”

नेकपा एमालेका युवा नेता समिक बडालले नेपालको विद्यार्थी आन्दोलनलाई विचार उत्पादनको मुख्य केन्द्र भएको बताए । बडालले विद्यार्थी आन्दोलनको गरिमा र इतिहासलाई कसैले पनि कम आँक्न नहुने उल्लेख गरे । उनले विगतमा राजतन्त्रको सान्दर्भिकता विरुद्ध बहस चलाउने तागत विद्यार्थी संगठनहरूसँगै रहेको स्मरण गर्दै अहिले विद्यार्थी संगठनको अस्तित्वकै लागि बहसमा जुट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण रहेको उल्लेख गरे ।

बडालले भने, “कलेजहरू सचेत विद्यार्थी पढ्ने ठाउँ हुन् । त्यहाँ फासीवादी सत्ताका रोबोटहरू उत्पादन हुँदैनन् । विद्यार्थी संगठनहरू भनेको विचार प्रस्फुटित हुने नर्सरी हुन् । यी नर्सरीहरूलाई कुनै फाउण्डेसनका कृत्रिम अभियानहरूले केही समय ओझेलमा पार्लान्, तर समाप्त पार्न सक्दैनन् । आन्दोलन सधैं एउटै दिशामा जाँदैन । यसका छालहरू कहिले तल त कहिले माथि हुन्छन् । यसबाट दिग्भ्रमित नभई उच्च मनोबलका साथ लाग्न जरुरी छ । कानून नपढेकाहरूले सरकार चलाइरहेका छन् । लुकी–लुकी कसैको डिजाइनमा विद्यार्थी आन्दोलनमाथि प्रतिवन्ध लगाउने र कलेजहरूमा प्रहरीका बुटहरू छिराउने षड्यन्त्र भइरहेको छ। यसको प्रतिवाद विद्यार्थीहरूले नै गर्नुपर्छ ।”

प्रशासनिक र कानूनी रूपमा विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन खोजिएको आरोप लगाए ।